पुस १५,
काठमाडौं । गुरुङ समुदायले आज तमुल्होसार मनाउँदैछन् । १५ पुसलाई नयाँ वर्ष मान्ने गुरुङ समुदायको परम्पराअनुसार आज तमुल्होसार मनाउन लागिएको हो ।‘ल्हो’ को अर्थ वर्ष र ‘सार’ को अर्थ फेरिनु भएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको हो । यसवर्ष पुस १४ गते राति १२ बजे मृग वर्षलाई बिदाइ गरी मुसा वर्षलाई स्वागत गरिने तमुल्होसार मूलआयोजक समितिले जनाएको छ ।
परापूर्वकालमा गुरुङ समुदायले वर्षलाई गन्न १२ जनावरको नामबाट वर्षको नामाकरण गरेका थिए । मुसापछि गाई, बाघ, बिरालो, सुगा, सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र मृग गरी १२ जनावरका नामबाट वर्षको नामाकरण गरिएको हो । यसवर्ष तमुल्होसारका अवसरमा आइतबारदेखि तीन दिनसम्म गुरुङ समुदायको सांस्कृतिक परम्परामा आधारित लोकदोहोरी गीत प्रतियोगिता आयोजना गरिएको छ । प्रतियोगिताको अन्तिमचरणको कार्यक्रम मंगलबार गरिने जनाइएको छ । जसका कारण आइतबारदेखि नै टुँडिखेलमा गुरुङ समुदायको रमझम छ । तमुल्होसारका अवसरमा १५० भन्दा बढी कक्ष राखिएका छन् । जहाँ गुरुङ समुदायका मौलिक पहिचानका चीजबीज एवं वेषभूषा र खानाको प्रदर्शनीसहित बिक्री वितरण भइरहेको छ । पुस १५ गते अपरान्ह १ बजे राष्ट्रपति विद्यादेवी भण्डारीले तमुल्होसार मूलसमारोहद्वारा टुँडिखेलमा आयोजना हुने कार्यक्रममा सम्बोधन गर्नुहुने कार्यक्रम रहेको आयोजक समितिले जनाएको छ ।














