हाइड्रोको शेयर पार्टीलाई होइन जनतालाई दिनुपर्छ

255

पुस ६,
सोलुखुम्बु । नेपाली कांग्रेसका महासमिति सदस्य शम्भुहरि बास्तोलाले माथिल्लो सोलु जलविद्युत आयोजनाले पार्टीलाई दिएको शेयर फिर्ता गरी तत्काल जनतालाई दिनुपर्ने विषयको उठान गरेका छन् । नेपाली कांग्रेस जिल्ला कार्य समिति सोलुखुम्बु र प्रदेशसभा, स्थानीय तह एवं भातृ तथा शुभेच्छुक संस्थाका प्रमुखहरुको संयुक्त बैठकमा महासमिति सदस्य बास्तोलाले कांग्रेसका नाममा लिएको शेयर फिर्ता गर्न जिल्ला कार्य समिति सोलुखुम्बुको ध्यानाकर्षण गराएका हुन् ।
२३।५ मेगावाट क्षमता भएको माथिल्लो सोलु जलविधुत आयोजनाले तत्कालिन नेकपा एमाले, नेकपा माओवादी र नेपाली कांग्रेसलाई प्रति पार्टी १ करोड ५० लाखका दरले ४ करोड ५० लाखको शेयर दिएको थियो । तीनवटै पार्टीका केही नेताहरुले कम्पनी खडा गरेर जलविद्युतको शेयर लिएका छन् ।

यसै विषयलाई लिएर नेपाली कांग्रेस जिल्ला कार्य समिति सोलुखुम्बु र प्रदेशसभा, स्थानीय तह एवं भातृ तथा शुभेच्छुक संस्थाका प्रमुखहरुको संयुक्त बैठकमा महासमिति सदस्य बास्तोलाले ‘कांग्रेस एउटा लोकतान्त्रिक र जनपक्षीय पार्टी भएकाले पार्टीका नाममा जोडिएर आएको १ करोड ५० लाखको शेयर तत्काल आम सोलुखुम्बुबासी जनताका नाममा दिनुपर्छ । त्यसो भएमा मात्र नेपाली कांग्रेसले जनताको साथ पाउने छ । अरु पार्टीले दिउँसो चोरे भनेर नेपाली कांग्रेस राती चोर्न जानु हुँदैन ।’ भनेका छन् ।

जलविद्युत आयोजनाले पार्टीलाई शेयर दिएपछि सोलुखुम्बुमा तत्कालिन अवस्थामा पनि तीनवटै पार्टी भित्र शेयर लिनुपर्छ र लिनुहुन्न भन्ने विषयमा निकै लामो बहस र खैलाबैला भएको थियो । सामाजिक सञ्जालमा समेत ठूलै चर्चा पाएको यो विषयले सोलुखुम्बुमा पुनः चर्चा पाएको छ । सामाजिक अभियानमा संलग्न कतिपय बुद्धिजीविहरुको समेत यो विषयले ध्यान खिचेको छ ।
कांगे्रस सोलुखुम्बुको संयुक्त बैठकमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पुर्वमन्त्री बलबहादुर केसी, जिल्ला सभापति विनोदकुमार बस्नेत, महासमिति सदस्यहरु, प्रदेशसभा सदस्यका उम्मेद्वार प्रकाशसिंह कार्की लगायतका नेताहरु र भातृ, भगिनी, शुभेच्छुक संघ, संस्थाका करिब दुई सय प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।