हेलिकोप्टर कम्पनीका अवैध एजेन्टले पर्यटक दिक्क

194

मंसिर २७,
काठमाडौं। आन्तरिक टर्मिनल भवनमा अवैध रूपमा पास लिएका हेलिकप्टर कम्पनीका एजेन्टका कारण पर्यटक दिक्क भएको पाइएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (टीआइए)ले कडाइ गर्ने भएको छ।
बिजमाण्डू डटकम लेख्छः हेलिकोप्टर कम्पनीहरूको सिफारिसमा प्रवेश पास लिन विमानस्थल कार्यालयमा एजेन्टको बैंक स्टेटमेन्ट सहितको पूर्ण विवरण पेस गरिनु पर्छ । प्रवेश पास भएपछि भित्रै घुमिरहने आधा दर्जनभन्दा बढी एजेन्टको पूर्ण विवरण पनि विमानस्थल व्यवस्थापनलाई बुझाएको नपाइएको र पर्यटकको पनि गुनासो बढेपछि कडाइ गरिने भएको हो । ‘यस्ता गिरोहले पर्यटकहरुलाई झुठा आश्वासन दिएर ठाउँको ठाउँ हेलिकोप्टर प्याकेज बनाउँछन्। अनि पछि सेवा नै फितलो पाएपछि पर्यटकहरुले गुनासो पोख्न थाल्छन्,’ स्रोतले भन्यो।

अवैधानिक रूपमा प्रवेश पास दिइएपछि एजेन्टले विमानस्थलभित्र पर्यटकलाई जबर्जस्ती घुमघाम, हवाइ यात्रा सम्बन्धि आश्वासन दिँदै आएको खुलेको छ। ‘यसरी एयरलाइन्स कम्पनीले नै अनवाश्यक व्यक्तिलाई पास दिँदा यस्तो वातावरण सिर्जना भइरहेको छ। यसले गर्दा सुरक्षामा आँच आउनका साथै सीमित कम्पनीमात्र नभइ मुलुकको पर्यटन क्षेत्रमै नकारात्मक असर पर्ने देखिएको छ,’ स्रोतले भन्यो।
हाल हेलि एभरेष्ट, फिस्टेल, मनाङ, अल्टिच्युड र एयर डाइनेष्टी लगायत विभिन्न कम्पनीले आधा दर्जनको दरले आफ्ना नियमित कर्मचारी नभएका बाहिरी मान्छेलाई पासको व्यवस्था गराउँदै आएको स्रोतको दाबी छ।

‘बिजनेसमा स्वास्थ प्रतिस्पर्धा हुनुपर्‍यो नी। यहाँ त पर्यटसको आवागमन हुनेबित्तिकै कलंकीमा कन्डक्टरहरूले बस भाडादर तोक्दै यात्रु तान्दै गरेको जस्तो क्रियाकलाप देखिन्छ,’ विमानस्थलका एक कर्मचारीले भने, ‘यस्तो क्रियाकलापले विमानस्थलको आन्तरिक सिस्टमसँगै विभिन्न वायुसेवा कम्पनी नै बदनाम हुने देखिएको छ। प्राय हेलिकोप्टर कम्पनीमार्फत परिचालित एजेन्ट गिरोहले विमानस्थललाई पैसा खुवाएर प्रवेश पास बनाएको देखिएको छ।’ टर्मिनल भवनभित्र भीडभाड र गन्जागोल हुनुको प्रमुख कारण नै अवैध रूपमा प्रवेश पास लिएर भित्र छिर्ने एजेन्ट समुह रहेको उनको भनाइ छ ।

टीआइएले हाल संचालित प्रत्येक हेलिकोप्टर कम्पनीमार्फत आधा दर्जनभन्दा बढी एजेन्टलाई प्रवेश पास दिएको छ । प्रवेश पास लिनका लागि वायुसेवा कम्पनीको नाम र कर्मचारीको तलबसुविधाको विवरण स्टेटमेन्ट बुझाउनुपर्ने प्रावधान टीआइएले अनिवार्य गरेको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार प्रत्येक दुई वर्षमा विमानस्थल प्रवेश पास नविकरण गरिन्छ । डिसेम्बरको चालु महिना सकिएलगत्तै नयाँ प्रवेश पास प्रयोगमा आउने प्राधिकरणले जनाएको छ।

अब नयाँ प्रवेशाज्ञा जारी हुनु अगावै एजेन्टहरुलाई पास बनाइदिनका लागि सिफारिस टीआइएमा पेस भइसकेको छ। विमानस्थलको सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै अनधिकृतलाई प्रवेशाज्ञा नदिने बारे विमानस्थलको उच्च तहमा पनि छलफल सुरू भएको छ । विमानस्थल महाप्रबन्धक देवेन्द्र केसीले अनावश्यक व्यक्तिको नाममा पास बनाएर वितरण गर्नु सरासर अपराध भएको बताए। ‘विमानस्थल जस्तो संवेदनशील क्षेत्रमा अनधिकृत व्यक्तिलाई प्रवेश अनुमति पास दिनु अपराध हो। यस्तो क्रियाकलाप गर्ने कर्मचारीलाई सिधै कार्वाही गरिन्छ,’ उनले भने, ‘हामीसँग सीमीत संख्यामा पास भएकाले यात्रुका आफन्त कहिलेकाही भित्र प्रवेश गर्न बञ्चित हुन्छन्, तर यस्तो संवेदनशील क्षेत्रमा अनधिकृतको भीड हुन दिँदैनौं ।’

विमानस्थलले मापदण्डअनुसार प्रवेश पास वितरण गर्दै आएको दाबी प्रवक्ता प्रतापबाबु तिवारीले गरे । ‘हामीलाई वायुसेवा कम्पनीले आफ्नो कर्मचारी भनेर सिफारिस गरेकाहरूको मात्रै प्रवेश पास बनाइदिन्छौँ। पास बनाउनका लागि हामीले ती कर्मचारीको स्यालरी स्टेटमेन्ट अनिवार्य राख्न निर्देशन गरेका हुन्छौं,’उनले भने, ‘ती कर्मचारीको स्यालरी अकाउन्ट कुन बैंकमा छ भन्नेर कुरा पुष्टि भएपछि पास बनाइन्छ।’