मंसिर २६,
भक्तपुर । मार्गशीर्ष शुक्ल पूर्णिमाका दिन आज भक्तपुरका नेवार समुदायले योमरी पूर्णिमा भव्य रुपमा मनाउदैं छन् । नयाँ धान भित्र्याएको खुशीयालीमा नेवार समुदायले योमरी पूर्णिमा हर्षोल्लासका साथ रमाइलो गरेर मनाउने गर्दछन् । योमरी पूर्णिमालाई योमरी पुन्हि पनि भनिन्छ आज ज्यापु दिवस पनि हो । नेवार समुदायको ठूलो चाडका रूपमा मनाइने यस चाडलाई खाद्य पदार्थको रसिलो चाडको रूपमा पनि लिइन्छ । योमरी नयाँ धानबाट बनेको चामलको पिठो, चाकु र तिलबाट बनाइन्छ। योमरी बनाउन आज बिहान सबेरैदेखि घरका महिला व्यस्त हुने गर्छन् । नुहाइधुवाइ घरमा लिपपोत गरेर योमरी पकाइने प्रचलन छ । यो पर्वलाई नेवार समुदायले पनि नवअन्नप्राशनका रुपमा समेत मनाउने गरेको संस्कृतिविद् तेजेश्वरबाबु ग्वँग बताउछन्। योमरीमा दूधबाट बनेको खुवा र चाकु तथा तिल समेत राखेर डल्लो बनाइन्छ। नेवार समुदायले पनि धान राख्ने भकारी वा कोठीमा पनि पूजा आराधना गरेर योमरी पूर्णिमा मनाउँछन्। साथै चेलिबेटीको गर्भ रहँदा गर्भमै बालकको पूर्ण स्वास्थ्यको कामना गर्दै माइतीबाट उनीहरूको घरमा तिल र चाकु भरिएको योमरी सगुन भनेर उपहार पठाउने चलन पनि छ।
तस्विर: सुन्दर शिल्पकारको फेसबुकबाट