असोज २९, धनगढी । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य तथा सुदूरपश्चिम प्रदेशका इन्चार्ज भीम रावलले प्रधानमन्त्री केपी शर्मा ओलीले आफूहरूसँग सुझाव लिएको तर लागू नगरेको आरोप लगाएका छन्। दशैं, दीपावली तथा छठ पर्वको अवसरमा मंगलबार धनगढीमा आयोजना गरेको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम पूर्व संचारकर्मीसँग प्रतिक्रिया गर्दै उनले चिनियाँ राष्ट्रपति सी चिनपिङसँग भएका सम्झौतामा आफूले दिएको सुझाव लागू नभएको भन्दै उनले असन्तुष्टि व्यक्त गरेका हुन्। चीनसँग सरकारले गरेको २० बुँदे सम्झौतामा सुदूरपश्चिमका कुनै पनि ठुला योजना नपरेको भन्दै आफूले दिएको सुझाव प्रधानमन्त्रीले कार्यान्वयन गरेको रावलले आरोप लगाए। चिनियाँ राष्ट्रपतिको भ्रमण अघि प्रधानमन्त्रीले बालुवाटारमा बोलाएको बैठकमा आफूले महत्त्वपूर्ण विषय उठाएको र प्रदेशको समृद्धिका बिषयमा जानकारी गराएको उनले बताए।
‘प्रधानमन्त्रीले बालुवाटारमा बोलाएको बैठकमा पश्चिम सेती लगायत सुदूरपश्चिमका सडकहरू र जलविद्युतका आयोजनाहरूमा वैदेशिक लगानी भित्राउने विषयमा ध्यान पुर्याउनु पर्छ भनेको हुँ’ उनले भने, ‘दार्चुलाको तिंकर नाका, बझाङको उरै नाका खोल्न पनि कसैले चासो दिएको छैन। चिनियाँ राष्ट्रपतिको भ्रमणमा कुरो होस् भनेर माग गरेको थिए।’ बहुउद्देश्यीय पश्चिम सेती जलविद्युत आयोजना, दार्चुलाको तिंकर हुँदै तिब्बत जोड्ने नाका र बझाङको उरै भञ्ज्याङ हुँदै तिब्बतको ताक्लाकोट जोडने नाकाका बारेमा आफूले कुरा राखेको भए पनि त्यो नपर्नु दुखद भएको रावलको भनाइ थियो। चिनियाँ राष्ट्रपतिसँग नेपालले गरेको सम्झौतामा सुदूरपश्चिम प्रदेशका कुनै पनि विषय नपर्नु न्यायोचित नभएको उनले गुनासो गरे। ‘सम्झौतामा सुदूरपश्चिम प्रदेशका कुनै कुरा उल्लेख छैन।
यो न्यायोचित भएन’ उनले भने, ‘नेपालको संविधानले परिकल्पना गरेको समानुपातिक विकासको धारण अनुरूप भएन।’ रावलले राजधानी वरिपरिको विकासले मात्रै देशको समग्र विकास नहुने बताए। उनले भने, ‘काठमाडौँ र त्यसको वरिपरि मात्रै सीमित राख्ने जुन प्रवृत्ति छ। त्यसको अन्त्य हुनु पर्छ।’ सुदूरपश्चिम प्रदेशका कुनै विषय नसमेटिएको भए पनि रावलले चिनियाँ राष्ट्रपति सीसँग भएका सम्झौता तत्काल कार्यान्वयनमा लैजानु पर्ने बताएका छन्। ‘चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमणको अवसरमा जति पनि भौतिक पूर्वाधारहरू निर्माण गर्ने कुराहरू अगाडि आएका छन्। धेरै स्वागत योग्य छन्’ उनले भने, ‘नेपालले तिनीहरूको कार्यान्यन गर्ने र राष्ट्रिय हितलाई सर्वोपरि राखेर अगाडि जानुपर्छ।’ -थाहा खबरबाट