उत्तर कोरियाले गर्‍यो समुद्रमुनिबाट नयाँ प्रकारको बलिस्टिक क्षेप्यास्त्र परीक्षण

62

एजेन्सी, असोज १६,
काठमाडौं । उत्तर कोरियाले नयाँ प्रकारको बलिस्टिक क्षेप्यास्त्र परीक्षण गरेको छ । परमाणुअस्त्र बोक्न सक्ने उक्त क्षेप्यास्त्रको परीक्षण उत्तर कोरियाले यो वर्ष गरेको एघारौँ परीक्षण भएको बीबीसीले जनाएको छ । उक्त क्षेप्यास्त्र समुद्रमुनि पनडुब्बीबाट प्रहार गर्न सकिने खालको भएको बीबीसीले जनाएको छ । पनडुब्बीबाट प्रहार गर्न मिल्ने क्षेप्यास्त्र हुनुको अर्थ उत्तर कोरियासँग आफ्नो सीमाबाहिरबाट पनि क्षेप्यास्त्र प्रहार गर्न सक्ने सामर्थ्य हुनु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

बुधवार स्थानीय समयानुसार बिहान सात बजे सो परीक्षण गरिएको थियो ।उ त्तर कोरियाली समाचारसंस्था केसीएनएका अनुसार बाह्य आक्रमणको जोखिम कम गर्न बनाइएको पुक्गुक्सङ-३ क्षेप्यास्त्र आकाशतर्फ प्रक्षेपण गरिएको थियो।दक्षिण कोरियाका अनुसार सो क्षेप्यास्त्र ४५० किलोमिटरको दुरी र ९१० किलोमिटरको उचाइ प्राप्त गरेपछि समुद्रमा खसेको थियो । यसको अर्थ सो क्षेप्यास्त्र अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्र रहेको स्थानभन्दा दुईगुना माथि पुगेको थियो । तर उत्तर कोरियाले यसअघि पनि त्योभन्दा माथि पुग्नेगरी क्षेप्यास्त्र परीक्षण गरिसकेको छ ।

यो परीक्षण उत्तर कोरियाले अमेरिकासँग पुनस् परमाणु निरस्त्रीकरणसम्बन्धी वार्ता सुरु गर्ने बताएको केही समयमा गरिएको थियो ।यसले छिमेकी राष्ट्रहरूलाई कुनै असर नपरेको पनि केसीएनएले बताएको छ । यसअघिका परीक्षणमा जस्तो यस पटक नेता किम जङ-अनको तस्बिर भने सार्वजनिक भएको छैन । यो वर्ष गरिएका अन्य १० वटा परीक्षणमा छोटो दुरीका क्षेप्यास्त्र मात्रै थिए।