शक्तिशाली मान्छे हुनुहुन्छ भनेर सभामुखको केस रफादफा हुनुहुँदैन : गगन थापा

424

असोज १४,
बुटवल ।नेपाली कांग्रेसका नेता गगन थापाले सभामुख कृष्णबहादुर महरामाथि लागेको यौन दुर्व्यवहारको आरोपको घटना सामसुम पार्न नहुने बताएका छन् । यो घटनाको निष्पक्ष अनुसन्धान हुनुपर्ने र सभामुख दोषी ठहरिए आम नागरिकसरह सजायँ पाउनुपर्ने थापाले बताए । रुपन्देहीको बुटवलमा मंगलबार आयोजित साक्षात्कारमा थापाले भने, ‘अभियोग कसलाई लागेको छ भन्ने आधारमा, शक्तिशाली मान्छे हुनुहुन्छ, पदीय जिम्मेवारीमा हुनुहुन्छ भन्ने कुराको आधारमा यो केस यत्तिकै रफादफा हुनु हुँदैन ।’ करणीको आसय मात्र राख्यो भने पनि दण्डनीय हुने कानुनी व्यवस्था रहेको भन्दै थापाले भने, ‘ममाथि बलात्कार प्रयास भयो भनिसकेपछि पृष्ठभूमि के थियो, के थिएन भन्ने कुराले अर्थ राख्दैन ।’

कानुनभन्दा माथि कोही पनि नहुने बताउँदै थापाले सभामुख दोषी भए उन्मुक्ति पाउनुपर्ने र अभियोग लगाउने महिला दोषी भए दण्ड दिनुपर्ने बताए । यो केसमा कहीँ कतै रत्तिभर पनि संलग्नता छ भने अनुसन्धान हुनुपर्छ र नागरिकले पाउनुपर्ने सजायँ उहाँले पनि पाउनुपर्छ,’ उनले भने ।