Thursday, September 24, 2026
Home समाचार जंगी अड्डामा लेख रचना पठाएर २ लाख पुरस्कार जित्नुहोस्

जंगी अड्डामा लेख रचना पठाएर २ लाख पुरस्कार जित्नुहोस्

196

असोज १,
काठमाडौं । नेपाली सेनाले यस वर्षबाट खुला सामरिक लेख रचना प्रतियोगिता आयोजना गर्ने भएको छ। राष्ट्रिय तथा सामरिक विषयमा खोज, अनुसन्धान र अध्ययनको दायरा फराकिलो पार्ने उद्देश्य उक्त प्रतियोगिता आयोजना गर्न लागिएकोे सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ। प्रतियोगिताका लागि राष्ट्रिय सुरक्षा र विकास, राष्ट्रियता र राष्ट्रिय एकता, नेपालको सामरिक महत्व, नागरिक–सैनिक सम्बन्ध र सैनिक कूटनीति शीर्षक तोकिएको छ। प्रतियोगितामा भाग लिन चाहने लेखकले असोज १ देखि ३० गतेसम्म लेखरचनाको शीर्षक बुझाउनुपर्नेछ।

स्वीकृत भएको शीर्षकको दायरामा रहेर मङ्सिर १ देखि माघ १५ गतेसम्म सैनिक मुख्यालयमा आइपुग्ने गरी लेखरचना पेश गर्नुपर्नेछ। लेखरचना दुई हजारदेखि दुई हजार ५०० शब्दको हुनुपर्नेछ। सेनाले प्रतियोगितामा उत्कृष्ट लेखलाई समेटेर ‘एकता जर्नल’ मा प्रकाशन गर्नेछ । प्रतियोगितामा छनौट भएका ३० लेखलाई पुरस्कृत गरिने सेनाले जनाएको छ। पहिलो लेखले २ लाख पुरस्कार पाउने छ भने दोस्रो हुनेले एक लाख र तेस्रोलाई ५० हजार प्रदान गरिने सेनाले जनाएको छ। त्यस्तै सान्त्वना पुरस्कार प्राप्त गर्ने २७ जनालाई जनही १० हजार प्रदान गरिने छ। यसअघि नेपाली सेनासँग सम्बन्धित विभिन्न विषयमा आधारित रहेर प्रत्येक वर्ष ‘लघु चलचित्र प्रतियोगिता’ सञ्चालन हुँदै आएको छ। प्रतियोगिताका उत्कृष्ट चलचित्रहरूलाई सेनाले पुरस्कृत गर्दै आएको छ।