अब पार्टीमा एक पद, एक जिम्मेवारी हुनुपर्छ : रावल

66

भदौ
काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य तथा पूर्व उपप्रधानमन्त्री भीम रावलले पार्टीभित्र एक व्यक्ति, एक जिम्मेवारीमा जानेरबारे केन्द्रिय सचिवालयले पहिल्यै नै निर्देशन दिईसकेको सुनाउँदै सोहीअनुसार अघि बढ्नुपर्नेमा जोड दिए ।
उनले भने,‘जहाँसम्म जिम्मेवारीको कुरा छ, योभन्दा अगाडि हाम्रो पार्टीमा एक पद, एक जिम्मेवारीमा जाने भनेर केन्द्रिय सचिवालयले नै निर्देशन गरेको छ । हामीले भनेको होईन् । यसको उद्देश्य के थियो भने सरकारको काम हेर्नेले सरकारको काम हेर्नुपर्छ । र, पार्टीको काम हेर्नेले पार्टीको काम गर्ने हो । दुवै तर्फको काम प्रभावकारी रुपमा होस भन्ने सकारात्मक र राम्रो चाहनाबाट नै यो कुरा भएको हो । अहिलेपनि यो काम हुन सक्यो भने दुवै काम प्रभावकारी रुपमा अघि बढ्छ । यसले पार्टी र देशको हितमा हुन्छ । यसकारण हामीले कार्यविभाजन गर्दा यतातिर ध्यान दिउँ भनेको हो ।’
उनले पार्टीमा केन्द्रिय तहमा पोलिटब्यूरो गठन गर्न बाँकी रहेको सुनाउँदै विलम्ब नगरी त्यतातर्फ ध्यान दिनुपर्ने बताए । उनले भने,‘विलम्ब नगरी पोलिटव्यूरो गठन गर्नुपर्छ । त्यसपछि केन्द्रिय समितिको बैठक डाक्नुपर्छ । सबैको बुद्धि र विवेक प्रयोग गर्दै पार्टी र सरकार चलाउनुपर्छ ।’
सरकारको कामप्रति पनि टिप्पणी गर्दै रावलले भारतीय विदेशमन्त्री डा. सुव्रमन्यम जयशंकर नेपाल भ्रमणमा आउँदा माथिल्लो कर्णाली आयोजनामा वित्तिय व्यवस्थापन गर्नेबारे सहमति र कोशी उच्च बाँधको कामबारे भएको सहमतिको विरोध गरे । उनले कोशी बाँध बाँध्ने काम नेपालको हितमा नरहेको जिकिर गरे । उनले भने,‘कोशी उच्च बाँध नेपालको हितमा छैन् । यसले ९ जिल्ला अति प्रभावित बन्छन् । चार जिल्ला त पुरै डुबानमा पर्छन् ।’ उनले यो कार्य कुनैपनि हालतमा गर्न नहुने भन्दै तत्काल रोक्नुपर्नेमा जोड दिए ।