भदौ ३०,
काठमाडौँ । सत्तारुढ दल नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’अराजक तत्त्वहरुले भ्रम सिर्जना गर्दै वर्तमान व्यवस्थालाई मास्ने षड्यन्त्र भइरहेकाले प्रतिवाद गर्न आव्हान गरेका छन् । पूर्व माओवादी नेता पोष्टबहादुर बोगटीको स्मृतिमा सोमबार पार्टी कार्यालय धुम्बाराहीमा आयोजित कार्यक्रममालाई सम्बोधन गर्दै प्रचण्डले भने ‘केही त्यस्ता तत्त्वहरुले हत्केलाले सूर्यलाई छेक्ने जस्तो प्रयास गरिरहेका छन् । जनतामा भ्रम छरिरहेका छन् । त्यस्ताप्रति सर्तक र रहन र त्यस्ताविरुद्ध प्रतिवाद गर्नुस्,’।
‘अब हामी अगाडि बढ्ने भनेको समाजवादको दिशामा नै हो । त्यसैका लागि आवश्यक पर्ने वैचारिक स्पष्टता, समर्पित र अनुशासित कम्युनिष्ट पार्टी, लाखौँ–करोडौँ जनताको भरोसा जित्नसक्ने पार्टी निर्माणका क्रममा छौँ,’ अध्यक्ष प्रचण्डको भनाइ छ । उनले यसरी जनताको मन जित्ने र समाजवादको यात्रा पुरा गर्ने काम कम चुनौतीपुर्ण नभएको पनि स्पष्ट पारे । ‘हामी पुँजिवाद, साम्राज्यवाद र व्यक्तिवादी विचलनबाट समेत घेरिएको अवस्थामा समाजवादमा जाने प्रयासमा छौँ,’ उनले भने, ‘समाजवादतर्फ हिँडेका छौँ, तर यो सिस्टम कलिलो छ । यसलाई मार्न सकिन्छ कि भनेर कोही छटपटिएको हामी देख्छौँ । यस्तो बेलामा यो परिवर्तनलाई रक्षा गर्न र समाजवादको सपना पुरा गर्न हामी सबैले संकल्प गर्न अवाश्यक छ ।’