भदौ १८,
काठमाडौं । नेपाली कांग्रेसका सांसद गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्राम दिन सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)लाई आग्रह गरेका छन् । बुधबार संसदको विषय समयमा बोल्दै उनले सिंगापुरमा उपचाररत प्रधानमन्त्रीको स्वास्थ लाभको कामना गरे । साथै विदेश उपचार गर्नु परेमा सरकारले उपचार खर्च नव्यहोर्ने कानुन पालना गरेकोमा धन्यवाद दिए ।
‘प्रधानमन्त्रीलाई विश्राम गर्न दिनुस्,’ उनले भने, ‘कार्यकारी प्रमुख एकैपटक लामो समय बाहिर बस्दा राष्ट्रिय सुरक्षा र कूटनीतिक मर्यादा जोखिमको प्रश्न छँदैछ। भिडिओबाट मन्त्रीसँग कुरा गरेर शासकीय जिम्मेवारी पूरा हुन सक्दैन।’
सांसद थापाले विगतमा आफ्नो पार्टीले पनि यस्ता गल्ती गरेको बताए। ‘यो गल्ती हिजो हामीले पनि गर्यौं। यो अन्याय हिजो हामीले पनि गर्यौं। सबैभन्दा नजिक बस्ने मान्छेले यो अन्याय गर्यो। यो अन्याय तपाईंहरू नगर्नुस्। यो गल्ती तपाईंहरू नदोहोर्याउनुस्,’ उनले भने।
उनले प्रधानमन्त्रीलाई नेकपाले विश्राम गर्न दिनुपर्ने बताए। ‘प्रधानमन्त्रीलाई विश्राम गर्न दिनुस् किनकी नेपालको आन्दोलनमा, शान्ति प्रक्रियामा योगदान पुर्याउनु भएको राष्ट्रिय जिम्मेवारी निर्वाह गर्नुभएको र स्वाभिमानको लडाइँमा लामो समय काम गर्नुभएको प्रधानमन्त्री हाम्रो अभिभावकको रूपमा लामो समय हाम्रो बीचमा देख्न चाहन्छौं,’ उनले भने, ‘तर यो कुरा त्यतिबेलासम्म मात्रै सम्भव छ जतिबेलासम्म शरीरले साथ दिन्छ।’
उनले प्रधानमन्त्रीको मनको इच्छाशक्तिको आफू प्रशंसक भएको पनि बताए। ‘म कामना गर्छु प्रधानमन्त्री स्वदेश फर्किएर रोष्टम उभिएर म लगातार कुनै विश्राम नलिइकन काम गर्न तयार छु भन्नुहुनेछ। तर अवस्था त्यस्तो भएन भने,’ उनले भने, ‘यो कुरा सुन्दै गर्दा कतिलाई रिस पनि उठ्ला। यो कुनै व्यक्तिगत कुरा होइन यो देशको कुरा पनि हो। देशभन्दा पहिला यो मानवियताको कुरा पनि हो। प्रधानमन्त्री एउटा मान्छे हुनुहुन्छ भन्ने कुरालाई हामी नबिर्सौं।’