भदौं १३,
भक्तपुर । आज अगस्ट ३० यो दिन संसार भर अन्तराष्ट्रिय बेपत्ता दिवस मनाईन्छ ।
नेपाल करिब १२ वर्ष शस्शत्र द्धन्द्ध चल्यो । करिब १७ हजार मानिसको मृत्यु भयो । हजारौं मानिस अंगभंग भए । सयौंको संख्यामा मानिसहरु बेपत्ता भए ।
भक्तपुर नगरपालिका वडा नम्बर ८ की कृष्णबेती प्रजापतिका श्रीमान २०५९ सालमा बेपत्ता भए ।
सेनाले घरमा नै आएर उनका श्रीमान सत्यनारायण प्रजापतिलाई लग्यो । केही दिन सूर्यविनायकको ब्यारेकमा राखेको पनि उनलाई थाहा छ । नखोजेको पनि हैन तर बिडम्वना मुलुकमा गणतन्त्र आयो । तर उनको श्रीमानको खबर आएन । पाँच जना छोरीहरु र एक जना छोरा समर प्रजापतिलाई जसोतसो गरेर हुर्काउदैं आएकी कष्णबेतीलाई यो निको नहुने घाउँले सधै सताउँछ ।
स्नातक तह अध्ययन गर्दै गरेका समर उतीबेला सानै थिए । उनलाई पीताको बारेमा केही थाहा भएन, तर अहिले बुझ्ने भएपनि भने समरको मनमा निकै ठुलो चोट लागेको छ ।
भक्तपुर चुनदेबीका नारायणभक्त त्वायनाको छोरा २२ वर्षीय छोरा बद्री नारायण २०५८ साल चैत्र १२ गते बेपत्ता भए । तेती बेलाको कहाली लाग्दो दिन र रात सम्झदैं नारायणभक्त भन्छन् मेरो छोरा नसमातेसम्म घरमा दिनरात भन्न पाइएन् ।
उनका छोरासंगै नुवाकोट त्रिशुलीका ठाकुरप्रसाद लामिछाने र भक्तपुरकी सुलोचना दुवाललाई समेत सेनाले लगेको स्मंरण गर्दै उनी भन्छन्, मेरो छोरो र ठाकुरको पत्तो छैन् तर सुलोचना भने उती बेला नै फिर्ता आइन् ।
उनले भने माओवादीका नेताहरु भन्नुहुन्छ, “तपाईको छोरा शहिद भयो ।” “शहिद भएको भए स्थान देखाउ, शालिक बनाइदेउ सरकार, मेरो छोराको कि लास चाहियो कि सास चाहियो । ”
त्यो द्धन्द्धबाट राजधानीको जिल्ला भक्तपुरपनि अछुतो रहन सकेन् । मुलुकमा संकटकाल लागेको त्यो समयमा राज्य पक्ष र तत्कालिन नेकपा माओवादीबाट गरेर भक्तपुरमा १२ जना मानिस बेपत्ता भए । अन्तरिम संसद सांसद बेपत्ता परिवारजन नारायणीदेबी प्रधान लगायतका बेपत्ता परिवार जनले सँधै आफ्ना घाउ मा कोट्याउने काम मात्र भएको बताउछिन् । दश बर्षे द्धन्द्धका क्रममा श्रीमान गुमाएकी प्रधान भन्छिन् “राज्यले बेपत्ताहरुको छानवीनमा चासो देखाएन ।” बेपत्ता परिवारजन भन्छन् “बरु मरे, मारेको ठहर भए अन्तिम संस्कार पनि हुन्थ्यो ,बिस्तारै घाउ पनि निको हुँदै जान्थ्यो होला तर खोजीबिन ,पर्खाई र तड्पाईमा हामीहरुको जीवन बित्ने भो ।”
स्वस्तिका बिसुंकेकोका दाई रामगोपाल द्धन्द्धमा शहिद भए । उनकी भाउजु दुर्गा बिसुंकेलाई राज्यपक्षले बेपत्ता बनायो । दाईका दुई छोरीहरु पुजा र पुनमलाई हुर्काएर उनले स्नातकसम्म पढ्ने बनाइनन् । तर पनि उनकी ६६ वर्षकी आमा सीतालाई भने त्यो घटनाले सधै सताइरहन्छ ।
उनी भन्छिन् ‘एकातिर परिवारका सदस्य बेपत्ता हूदाको पींडा त छदैछ, पैतृक सम्पत्ति पनि नामसारी गर्न पाएका छैनौं ।’ नागरिकता पाउन कठिन भएको छ ।
सरकारले बेपत्ताको सूची तयार गरे पनि बेपत्ता परिवारले पाउनुपर्ने न्यूनत्तम सेवा सुविधासमेत पाउन नसकिएको उनीहरुको आक्रोश छ ।
अन्तर्राष्ट्रिय बेपत्ता दिवसको अवसरमा बिहीबार नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा भक्तपुरले आयोजना गरेको एक कार्याक्रममा बेपत्ता नागरिकका परिवारको रुवाइले कार्यक्रमा सहभागी सबैको आखाँ रसाए ।
यति लामो समयसम्म बेपत्ता भएका आफ्ना आफन्तका बारेमा केहि थाहा नहुदा ठुलो पिडामा बस्नु परेको र सरोकारवाला निकायहरुले छिटोभन्दा छिटो आफ्ना आफन्तहरुका बारेमा जानकारी गराउन बेपत्ता नागरिकका परिवारले माग गरेका छन् ।
बेपत्ताको खोजवीनमा सरकार र आयोगको पहल कदमी फितलो भएको बताउँदै उनीहरु कहाँ छन् भन्ने जवाफ दिन ढिलाई गर्न नहुने तर्फ ध्यानकर्षण गरेका छन् ।