प्रदर्शनका क्रममा घाइते भएकाहरुलाई भेट्न रवि अस्पतालमा पुगे

338

भदौ १०,
चितवन। आफ्नो समर्थनमा भएको प्रदर्शनका क्रममा घाइते भएकाहरुलाई भेट्न सञ्चारकर्मी रवि लामिछाने अस्पताल पुगेका छन्। भरतपुरका विभिन्न अस्पतालमा उपचाररत घाइतेहरुलाई भेट्न अस्पताल पुगेका लामिछानेले उनीहरुको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन्।

माउण्टेन टेलिभिजनमा कार्यरत पत्रकार शालिकराम पुडासैनीको आत्महत्या दुरुत्साहन मुद्दा खेपिरहेका रवि लामिछानेलाई जिल्ला अदालत चितवनले सोमबार पाँच लाख धरौटीमा रिहा गर्ने आदेश दिएको थियो। रविसँगै तीन लाख धरौटीमा छुटेका युवकराज कँडेल पनि अस्पताल पुगेका थिए। रवि लामिछाने निर्दोष रहेको दाबीसहित जनप्रदर्शन चर्किँदा केही समर्थक घाइते भएका थिए। उनीहरुको अहिले उपचार भइरहेको छ। रवि लामिछानेले सोमबार भएको प्रदर्शनपछि पक्राउ परेकाहरुसँग पनि भेट गरेका छन्।