भदौ २,
चितवन । जिल्ला प्रशासन कार्यालय चितवनले जिल्लाका विभिन्न स्थानमा निषेधित क्षेत्र घोषणा गरेको छ । रविको पक्ष र विपक्षमा प्रदर्शन हुन थालेपछि प्रशासनले निषेधित क्षेत्र घोषणा गरेको हो । विहीवारदेखि दैनिकजसो प्रदर्शन, ढुंगामुढा हुन थालेपछि स्थानीय प्रशासनले चितवनको भरतपुरस्थित चौबिसकोठीदेखि मालपोचतोकसम्म निषेधित क्षेत्र घोषणा गरेको हो ।
उक्त क्षेत्रमा नारा जुलुस र प्रदर्शन गर्न प्रशासनले रोक लागएको छ । प्रशासनले निषेधित गरेको क्षेत्रमा अस्पताल, कार्यालय, कलेजहरु रहेको र संवेदनशिल क्षेत्र भएको र दैनिक नारावाजी र जुलुस हुँदा असर गरेको भन्दै प्रशासनले निषेधाज्ञा जारी गरेको जनाएको छ । साउन २० गते चितवनको कंगारु होटलमा मृत फेला परेका पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा पत्रकार रवि लामिछाने, युवराज कँडेल र नर्स अस्मिता कार्कीलाई प्रहरीले पक्राउ गरेसँगै चितवनमा दैनिक जसो प्रदर्शन भइरहेको छ ।
रविका समर्थकहरुले लामिछानेलाई फसाउन खोजेको भन्दै प्रहरी प्रशासन विरुद्ध नारावाजी र प्रदर्शन गरिरहेका छन् । प्रदर्शंनकारीले प्रहरीमाथि ढुंगामुढा गर्दा केही प्रहरी घाइते भएका छन् भने प्रहरीले लाठी चार्ज गर्दा आन्दोलनकारी पनि घाइते भएका छन् । आन्दोलनकारीको ढुंगामुढाका कारण शनिवार प्रहरीको भ्यानमा क्षति पुगेको थियो ।