भौतिक पुर्वाधार विकास मन्त्रीलाई पदबाट हटाइयो

183

साउन ३०,
सुर्खेत । कर्णाली प्रदेशका भौतिक पुर्वाधार विकास मन्त्री खडकबहादुर खत्रीलाई मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले बर्खास्त गरेका छन्। ठेकेदारसमेत रहेका मन्त्री खत्रीविरूद्ध नक्कली बैंक ग्यारेन्टी प्रकरणमा पाटन उच्च अदालतले पक्राउ पूर्जी जारी गरेपछि मुख्यमन्त्री शाहीले बिहीबार बर्खास्त गरेका हुन्। नेपालको संविधानको धारा १६९ को उपधारा ९२० को खण्ड ९ख० बमोजिम खत्रीलाई पदमुक्त गरि उक्त मन्त्रालयको जिम्मेवारी मुख्यमन्त्री शाहीले नै सम्हालेका छन्। खत्रीलाई बर्खास्त गरिएको निर्णयको जानकारी शाहीले प्रदेश प्रमूख दुर्गाकेशर खनाललाई दिइसकेका उनका प्रेस सल्लाहकार ध्रुव बुढाथोकीले जानकारी दिएका छन्। उच्च अदालत पाटनले कर्णाली प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री खत्रीलाई पक्राउ गर्न सोमबार आदेश दिएको थियो। अदालतले राजुप्रसाद श्रेष्ठसँगै पक्राउ गर्न सोमबार आदेश जारी गरेपछि मन्त्री खत्रीको पद धरापमा परेको थियो।

उच्च अदालतको संयुक्त वाणिज्य इजलासका न्यायाधीशद्वय श्रीकान्त पौडेल र टेकप्रसाद ढुंगानाको इजलासले उक्त आदेश जारी गरेका थिए। मन्त्री खत्रीसहित पाँच जनाले एक करोड १० लाख ८० हजार रकमको कृषि विकास बैंक भोजपुरबाट जारी नक्कली झुटो, किर्ते, बैंक ग्यारेन्टीको पत्र जिल्ला प्राविधिक कार्यालय भोजपुरमा पेश गरेका अदालतले ठहर गरेको थियो। यो प्रकरणमा पाँचै जनाविरुद्ध बैंकिङ कसुर अन्तरगत मुद्दा चलाइएको थियो। अदालतको आदेशमा मन्त्री खत्री र राजुप्रसाद श्रेष्ठलाई फरार अभियुक्त भनिएको थियो। अन्य अभियुक्तहरू छबिलाल ढकाल, रणधिर तुम्बा र देवजंग शाहीलाई अदालतमा उपस्थित गराइएको थियो। उपस्थित भएका तीनैजनालाई बैंकिङ कसुर अन्तरगत अदालतले ६ लाख बराबरको धरौटी मागेको थियो। मन्त्री खत्रीसहितको स्वामित्वमा केएसके कन्स्ट्रक्सन कम्पनीले अहिले पनि सरकारका दर्जनौं ठेक्का लिइरहेको छ। केएसके कन्स्ट्रक्सन कम्पनीमा उनका भाइ लोकेश र व्यवसायी सूर्य खत्री पनि साझेदार रहेका छन्। -thahakhabar