कसरी मरे सिन्धुपाल्चोकमा बाँदर ? खुल्यो रहस्य

साउन २७,चौतारा । सिन्धुपाल्चोक, चौतारा साँगाचोकगढी– १३, ठूलो सिरुवारीका पुष्पाखर दुलाल गत मंगलबार रुम्सीस्वाँरामा गोरु चराउँदै थिए । मध्यान्ह चार बजेतिर आफ्नो गोठ भन्दामाथिको महाकाँलेश्वर मन्दिरको गुठी खेतमा उनले बाँदरको हुल झुम्मिरहेको देखे ।गाउँवस्ती भन्दा अलि टाढा जंगलले घेरिएको खेतमा बाँदरको हुल देखिनु नौलो कुरा थिएन । खेतमा धान रोपाइँ सकिसकेको थियो । पाँच बजे आसपासमा बाँदरहरू अनोठो आवाज निकालेर कराउन थाले । त्यसपछि पुष्पाखर गोठमा गोरु बाँधेर बाँदरको हुल खेलिरहेको खेततिर उक्ले । उनी पुग्दा पानी जम्मा गर्न बनाइएको ट्याङ्की वरिपरि झुम्मिएका बाँदर कराइरहेका थिए । सिमेन्टले प्लास्टर गरिएको ट्याङ्की नजिक जान भने दुलाल सकेनन् । ‘नजिक जान खोज्यो कि बाँदरहरू झम्टिन आइहाल्थे’ उनी भन्छन्, ‘त्यतिबेलासम्म ट्याङ्कीभित्र एउटा बाँदर फसिसकेको रहेछ, फसेको साथीलाई मार्ला भनेर हो कि किन हो रु अरुबेला भन्दा आक्रमक भएर झम्टिन आए ।’

७५ वर्षीय पुष्पाखर जोड–जोडले चिच्याउन थालेपछि स्थानीय क्षेत्रबहादुर दुलाल पनि त्यहाँ आए । नजिकै गोठ भएका होमनाथ चौलागाई पनि आइपुगेपछि बाँदर केही हच्किएजस्तो देखियो । ‘ट्याङ्कीभित्र पुग्दा माछा जस्तै बाँदरहरू यताबाट उता, उताबाट हुलुलु–हुलुलु गरिरहेका थिए’ ७४ वर्षीय क्षेत्रबहादुरले अनलाइनखबरसँग भने । बाँदरबाट पीडित भएकाले होला उपस्थितमध्ये एक जनाले ट्यांकीभित्रै ढुंगाले हानेर मारौं भन्न पनि भ्याए ।

पानीले निथ्रुक भिजेका, ढाडमा बच्चासमेत बोकेका बाँदरहरूको अनुहार देखेपछि गाउँलेको मन पग्लियो । उनीहरू बाँदरलाई त्यहाँबाट निकाल्नुपर्छ भन्नेमा पुगे । तर, बाँदरले टोक्ला भनेर ट्याङ्कीमा पस्ने आँट भने कसैले गरेनन् । तर, गोठबाट ५/६ फिट अग्लो बाँस ल्याएर बाँदर निकाल्न शुरु गरे । ‘शुरुमा डराएका बाँदरहरू केहीबेरपछि भने त्यो बाँसमा समाउन आए’ क्षेत्रबहादुर भन्छन्, ‘बाँसमा समात्न आएका मध्ये ६ वटालाई पालैपालो बाहिर निकाल्यौं ।’

साँझ पर्न थालेपछि त्यही बाँसलाई ट्याङ्कीमा भर्‍याङ जस्तो बनाएर छाडियो । तीनैजना आ–आफ्नो घर फर्किए । ‘त्यसको भोलिपल्ट बिहान पुग्दा त्यहाँ १६ वटा बाँदर मरिसकेका रहेछन्’ साविक ठूलोसिरुवारीका पूर्वगाविस अध्यक्ष समेत रहेका क्षेत्रबहादुरले भने, ‘दुईवटा बाँदर एउटा ठूलो जिउँदो बाँदरको ढाडमा चढेर बसेका थिए, ती तीनवटैलाई निकालियो ।’ -onlinekhabar