नेपाल वायु सेवा निगम सुधार्न पाँच सदस्यीय कार्यदल गठन

130

साउन २२,
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री योगेशकुमार भट्टराईले नेपाल वायु सेवा निगममा सुधार ल्याउने गरी सुझाव दिन पाँच सदस्यीय कार्य दल गठन गरेका छन् । गतसाता मात्रै कार्यभार सम्हालेका मन्त्री भट्टराईले निगममा समग्र सुधार ल्याउने गरी आवश्यक सुझाव दिन पूर्वपर्यटन सचिव सुशील घिमिरेको संयोजकत्वमा ५ सदस्यीय ‘नेपाल वायु सेवा निगम सुधार सुझाव कार्यदल’ गठन गरेका हुन् ।

समितिका सदस्यहरुमा चार्टर एकाउन्टेन्ट प्रमोद कर्ण, व्यवस्थापन विज्ञ डिमप्रकाश पौडेल, विमान चालक सुधीर शमशेर राई र सदस्य सचिवको रुपमा संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछाने छन् । राष्ट्रहित, जनताको हित र नेपाली ध्वजावाहक विमानको अन्तर्राष्ट्रिय क्षेत्रमा प्रतिष्ठा बढ्ने गरी एक महिनाभित्र सुझाव दिन सो कार्यदल गठन गरिएको मन्त्री भट्टराईले जानकारी दिए ।

बुधबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उनले निगमको सुधारका लागि आफूले पटक(पटक त्यहाँको व्यवस्थापनसँग आवश्यक छलफल गरिरहेको बताए । मन्त्री भट्टराईले निगमका पदाधिकारीहरुसँग आफूले विजनेस प्लानको विषयमा पनि छलफल गरिरहेको जानकारी दिए । ‘निगमलाई गर्व गर्न लायक बनाउने गरी काम गर्नेछु,’ उनले भने ।

मन्त्री भट्टराईले अब छिट्टै चीन र दक्षिण कोरियामा पनि नेपालले हवाई सेवा सञ्चालन गर्ने योजना सुनाए । उनले निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको शिलान्यास चालू आर्थिक वर्षभित्र हुने घोषणा पनि गरे । राजनीतिक सहमति जुटाएर सो विमानस्थलको निर्माणको कामलाई अघि बढाउने मन्त्री भट्टराईको योजना छ ।