बागलुङमा पहिरोले ३ जनाको मृत्यु, मध्य पहाडी लोकमार्ग अबरुद्ध

236

श्रावण २०,
काठमाडौं । बागलुङको तमानखोला गाउँपालिका ४ मा गएराति पहिरो जाँदा ३ जनाको मृत्यु भएको छ । पहिरोले ४ घर पूर्णरूपमा क्षति भएको छ ।
एक सय ५० मिटर माथिबाट पहिरो झर्दा पुरिएर ३ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । सोमबार बिहान स्थानीय र प्रहरीले पुरिएको ठाउँबाट शव निकालेका थिए ।

मृत्यु हुनेमा ७० वर्षीया अंसारी श्रीपाली, उनको नाती १२ वर्षीय गणेश र ४५ वर्षीया सन्तकुमारी श्रीपाली रहेको बागलुङका प्रहरी नायव उपरीक्षक झबिन्द्र प्रसाद भट्टराईले बताए । अन्य सात जना घाइते भएको प्रहरीले जनाएको छ । पहिरोले घर पुर्दा उनीहरुको मृत्यु भएको हो ।

भट्टराईले उद्धार र पहिरो पीडितलाई सुरक्षित स्थानमा राख्ने काम भइरहेको बताए । गाउँको अन्य तीन घरमा पहिरोले आंशिक क्षति पुगेको छ । प्रहरीका अनुसार पहिरोले पुरिएर २ भैंसी र ११ बाख्रा मरेका छन् ।

त्यसैगरी तुरतुरे ताल फुटेर मध्य पहाडी लोकमार्ग बगाउँदा बागलुङबाट ढोपाटन जाने सडक अबरुद्ध भएको छ । करिब २ सय मिटर सडक बगाएको प्रहरीले जनाएको छ ।