साउन १३,
काठमाडौं । आफ्ना दुई मुख्य सरकारले माग पूरा नगरेको भन्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) ले आज (सोमबार) पनि संघीय संसदको प्रतिनिधिसभा बैठकमा अवरोध गरेका छन्। दुई दलका सांसदहरुले कार्यगत एकता गर्दै दिउँसो १ बजेपछि नयाँबानेश्वरमा बसेको प्रतिनिधि सभा बैठकमा अवरोध गरेका हुन्। सभामुख कृष्णबहादुर महराले बैठक सुरु गरेलगत्तै दुवै दलका सांसदहरु उठेर नाराबाजी गर्दै संसदमा अवरोध गरेका हुन्। उनीहरुले संसदीय सर्वोच्चता कायम गर्नु पर्ने मागसहित नाराबाजी गरेका छन्।
दुई दलका सांसदहरुले अवरोध गरेपछि सभामुख महराले संसदीय सर्वोच्चता कायम गर्नका लागि बैठक चल्न दिन आग्रह गरे। उनले संसदीय प्रक्रिया अघि बढाउन सके मात्रै संसदीय सर्वोच्चता कायम हुने बताए । तर प्रतिपक्षी सांसदहरुले नाराबाजी गरिरहेपछि संसद बैठक अघि बढ्न सकेको छैन।














