Saturday, November 14, 2026
Home पत्रपत्रिका पुल बनाउनै मान्दैनन् चक्रपथका ठेकेदार, दुई वर्षमा पनि पूरा भएन ४५ प्रतिशत...

पुल बनाउनै मान्दैनन् चक्रपथका ठेकेदार, दुई वर्षमा पनि पूरा भएन ४५ प्रतिशत काम

108

नेपाल समाचारपत्र
साउन १३, काठमाडौं । चीन सरकारले विस्तार सम्पन्न गरेको कलंकी–कोटेश्वर खण्डको विभिन्न भागमा सडक विभागले आकाशे पुल निर्माणको काम गरिरहेको छ । यात्रुको सहजताका लागि विभागले बालकुमारी, सातदोवाटो, महालक्ष्मीस्थान, एकान्तकुना, सानेपा र बल्खुमा गरी ६ स्थानमा आकाशे पुल बनाइरहेको हो । चीन सरकारले यस सडकमा कोटेश्वर र धोबीघाटमा गरी दुई स्थानमा आकाशे पुल निर्माण गरेको थियो । विभागले दुई वर्षअघि पुल निर्माणका लागि ठेक्का लगाई ठेकेदार छनोट भइसकेर काममा लागिसकेको त छ तर अहिलेसम्म कुनै पुल सम्पन्न भइसकेको छैन ।

सानेपा, बल्खु र महालक्ष्मीस्थानबाहेक सबै स्थानमा काम सुरु भइसकेको सडक विभागले जनाएको छ । विभागका इन्जिनियर निरञ्जन शर्माले सानेपा र बल्खुमा जगको कामबाहेक केही नभएको र महालक्ष्मीस्थानमा सुरु समेत नभएको बताउनुभयो । उहाँका अनुसार असार मसान्तसम्म ६ वटै पुल निर्माण सम्पन्न गरिसक्नुपर्ने थियो । तर दुई वर्षभित्र नबनेको पुल यो असारमा पनि सम्पन्न हुन सकेन । ‘६ वटै पुल निर्माण सम्पन्न गर्ने समयावधि यो असार मसान्तसम्म थियो । तर कुनैमा काम आधा पनि सकेको छैन भने कुनैमा सुरु समेत भएको छैन’ –उहाँले बताउनुभयो ।

दुई वर्षअघि २५ करोड लागतमा निर्माण सम्पन्न गर्न ६ ओटा पुलको विभिन्न कम्पनीसँग सम्झौता भएको थियो । सानेपा, बल्खु र महालक्ष्मीस्थानमा आकाशे पुल निर्माण गर्ने जिम्मा पूर्णचण्डी÷ड्रामा जेभीले पाएको थियो । तर दुई वर्ष सकिन केही हप्ता मात्रै बाँकी रहँदा पनि ठेकेदार पक्षले जोडबल नगरिएकोप्रति विभाग आक्रोशित बनेको इन्जिनियर शर्माले बताउनुभयो ।