चाडपर्वनै गलत !

594

कल्याण पन्त-
पर्व सुधार राष्ट्रिय कार्यान्वयन समितिले हालै मात्र पञ्चाङ्ग (पात्रो) ले निर्देशित गरेका पर्वलाई एक महिना वर सारेर गरिने धार्मिक कृत्यले मात्र सिद्धि पाइने तर्क अघि ल्याएकोे छ । हाल अँगालिएको पञ्चाङ्गका चाडपर्व पद्धति गलत भएको दाबी समेत गरेको छ । सनातनदेखि मनाउँदै आइरहेका दशैं, तिहार लगायत अन्य चाडबाड अयनाशं परिवर्तन भएको कारण उल्लेखित पर्व गलत सावित भएको हो । धार्मिक, साँस्कृतिक, वैज्ञानिक र पर्यावरणीय हिसाबले पनि समय सुधार गर्नुपर्ने बलिया आधार प्रश्नोत्तरको रुपमा यहाँ प्रस्तुत गरिएको छः

के हो चाडपर्व ?
पर्वहरु सुख, शान्ति, समृद्धि, सुस्वास्थ र दीर्घायुसित जोडिएका हुन्छन् । यो शब्दले श्रद्धा, आस्था, निष्ठा, विश्वास जनाउने पवित्र दिन भन्ने बुझाउछ । हाम्रा केही पर्वहरु दशैं, तिहार, श्रीपञ्चमी, फागुपूर्णिमा, रामनवमी, पञ्चमी, जनैपूर्णिमा, कृष्णाष्टमी, एकादशी, माघे संक्रान्ति, पूर्णिमा, अमावस्या आदि हुन् । यी वैदिक कालदेखि नै निश्चित ऋतु र तिथिमा मनाइने गरिन्छ, जस्तैः शरद ऋतुको दशमी तिथिमा दसैंको टिका पर्दछ ।

पर्वको निर्धारण कसले गर्दछ ?
तिथि (चन्द्रमा अनुसारको गते जुन धार्मिक कार्यमा प्रयोग हुन्छ) र गते (सौर्य गति अनुसारको गते जुन सरकारी कार्यालयमा प्रयोग हुन्छ ) का हिसाबकिताब गरेर पर्व तोक्ने काम नेपाल सरकारबाट मान्यता प्राप्त पञ्चाङ्ग निर्णायक समितिले गर्दछ । यस समितिले वर्सेनि पात्रो प्रकाशन गरी चाडपर्वका बार, तिथि, नक्षत्र, योगा, करण मार्फत समय मुहूर्त दिने गरेको छ । सामान्यतया परम्पराका आधारमा विद्यमान पञ्चाङ्ग लेखिदैं आएका छन् । यसै अनुसार चाडपर्व मनाउँदै आइरहेको छ । तर हालका पञ्चाङ्ग पूर्णतः सुधारिएका छैनन् ।

चाडपर्व ठीक गराउन के गर्नुपर्ला ?
हाम्रा चाडपर्वलाई ठीक ठाउँमा ल्याउन एक महिना वर सार्नुपर्दछ । उदाहरणको लागि चैत्रको ७ गतेलाई अगामी वर्षबाट वैशाख १ गते बनाउनु पर्छ । त्यसपछिका महिनाहरु क्रमशः हुनेछन् । सरकारी कामकाजका लागि पहिलो वर्ष ११ महिनाको हुन्छ भने बाँकी महिना सामान्य हिसावले चल्नेछ ।

कसरी पर्वहरु गलत देखिए त ?
अहिले परम्परागतका ती पञ्चाङ्गमा उल्लेखित अयनाशं फरक स्थितिमा छ । अयनाशं शून्य डिग्री हुँदा निर्धारण गरिएका चाडपर्वहरु ठीक हुन्छन् । ग्रहका चाल, नक्षत्र र चलायमान आकाशीय पिण्डहरुले आफ्नो मार्ग र अयनाशंं परिवर्तन गरिसकेको छ । त्यसैले ग्रह र अयनाशं स्थिति विचलन हुँदा अयन, संक्रान्ति र पूर्णिमामा मेल खाएको देखिदैंन । पर्व तिथि यिनैका आधारमा निर्देशित हुन्छ । अहिलेको परिपेक्ष्यमा यो लामो समय बित्दा अयनाशंमा विचलनमा २४ डिग्रीका अन्तर आइसकेको छ । एक डिग्री बराबर एक दिन हुने भएकोले २४ दिन नै वर सरिसकेका देखिन्छन् । तर हाम्रा पात्रोहरुमा भने एक महिनापछि नै पर्वको उल्लेख गरिएको छ । उदाहरणको लागि २०७६ सालको विजया दशमी असोज २१ गते परेको छ भने सुधार गरिएको पात्रो अनुसार भाद्र २२ गते परेको छ । ७२ वर्षमा एक डिग्री अयनाशं हुन्छ । अहिलेको पर्व निर्धारण गरिएको समय नै २ हजार ७६ वर्ष नै भइसकेको हुँदा पात्रोमा प्रस्तुत गरिएका पर्वहरु गलत देखिएको छन् ।

कति दिन विचलन आयो त ?
अयनाशं २४ डिग्री फरक आइ सकेको अवस्था छ । अयन भन्नाले बाटो भन्ने बुझिन्छ । सूर्य उत्तरतिर लाग्नेलाई उत्तरायण र दक्षिणतिर लाग्ने बाटोलाई दक्षिणायन भनिन्छ । यो अयनाशं ( अयन + अंश) मा शुन्यबाट २४ डिग्रीमा छ । यसअनुसार एक डिग्री बराबर एक दिन हुने भएकोले २४ दिन विचलन आइसकेको छ ।
अयन चलन एक दिनमा ३.३३ सेकेण्डको दरले पछाडि धकेलिन्छ । यसै गरी वर्षमा २० मिनेट, ७२ वर्षमा १ दिन र २१५० वर्षमा १ महिना अगाडि दिन सर्दछ । अहिलेको अवस्था भनेको यही २४ दिन फरक प¥यो भन्ने हो । चान्द्र महिना भने वर्तमान अवस्थामा १ महिना नै वर सरिसकेको स्थिति छ ।

यथास्थितिमै पर्व मनाउदा के फरक पर्छ ?
धर्म, सँस्कृति, रीतिरिवाज, चाडपर्व आदि ठीक तवरले उपयोग गरी धर्मशास्त्र संरक्षण र संवद्र्धन, सुखमय जीवनयापनको लागि पर्वले महत्वपूर्ण भूमिका खेलेको हुन्छ । शास्त्रले किटान गरेको अयन, ऋतु, महिना, तिथि, नक्षत्र, योग, करण आदिको समष्टि रुप नै पर्व भएकोले यीमध्ये कुनै एक जुरेन भने त्यो पर्व नै अपाङ्ग हुन्छ । यस्तो अवस्थामा नजुरेको धार्मिक कृत्यले विग्नबाधा निम्त्याउँछ । अर्को कुरा ठीक समयमा नगरिएको कार्यले सिद्धि पाउदैंन् । मनमा शान्ति मिल्दैन । बेकारको खर्च गराउँछ । दीर्घायु, समृद्ध पनि बनिदैंन । तिहारको भाइटीकाको साइत आयुसित जोडिएको छ । त्यसरी दसैंको पनि आयु, सुस्वास्थ्यसित जोडिएको पाइन्छ । श्राद्ध गर्ने तिथिमा त्यो दिन नै गरिएन भने पितृहरु फल प्राप्त गर्दैनन् । तसर्थ धार्मिक हैसियत फलको चाहाना गरेर पर्व अहिलेको यथास्थितिमा मनाउँदा निरर्थक हुन्छ ।

वातावरणमा पनि केही फरक पर्छ कि ?
एकदमै फरक पर्छ । एक महिना वर दिन सार्दा वातावरणीय अवस्थामा ठिक हुन जान्छ । यसलाई बुझ्नको लागि नव वर्ष प्रारम्भ भएको दिन वैशाख १ शास्त्रीय रुपमा निर्धारण भएको दिन बुझ्नुपर्ने हुन्छ । जहिले वैशाख १ गतेबाट वर्षारम्भ गर्ने भन्ने निक्र्यौल भयो, त्यतिखेर अवस्था न जाडो, न गर्मीको अवस्था थियो । दिन र रातको लम्बाइ पनि बराबर ( १२ घण्टाको दिन र १२ घण्टाको रात) थियो । अहिले वर्षारम्भ भएको २ हजार ७६ वर्षसम्म यता आइपुग्दा दिनरात बराबर हुने दिन चैतको ७ गते मात्र पर्दछ । त्यतिखेरको जलवायु पनि वैशाख १ गत हालको चैत ७ गतेजस्तै न जाडो न गर्मीको अवस्था थियो । यो दिन एकएक गरेर गणना गर्दा २४ दिन वर आइसकेको यत्तिकै पनि प्रमाणित हुन्छ । यस अवस्थामा समय सुधार गरेर हामीले केही गरेनौं भने १२ हजार ७ सय ८० वर्षपछि पुस, माघ महिनामा भयकर गर्मी,भई वर्षा हुनेछ भने जेठअसारमा भयंकर जाडो हुनेछ ।

वनस्पति तथा प्राणीका गतिविधिमा फरक हुन्छ ?
निश्चित रुपमा वनस्पति तथा समस्त जीवजन्तुका गतिविधिमा आकाशपातालको फरक पर्दछ । वातावरणीय हिसाबले विभिन्न ऋतुहरुमा वनस्पति हुर्कन्छन्, बढ्छन् । वनस्पतिका बृद्धि र विकास प्रकाश, तापक्रम, आद्रता, वर्षा, माटोको चिस्यान आदिमा भर पर्ने हुँदा असारको वातावरण नै पुसमाघ जस्तो हुने भए पछि त्यही अनुसार वनस्पतिका फुल्छन्, फल्छन् । अहिलेको जाडो मौसममा हुने सुन्तला, ज्यामिर, भोगटे, आदि जस्ता फल फल्ने उपयुक्त समय जेठ, असारमा हुनेछ । जाडो र गर्मीको मौसम अहिलेको भन्दा ठीक विपरीत हुन जाँदा जीवजीवात्माहरुको गतिविधि पनि त्यही अनुसार हुनेछ । समग्रमा भन्दा एउटा काल खण्डमा जेठ, असार महिनाका विशेषता रहने छैनन्, नत पुसमाघका । धान रोप्ने मौसम नै पुसमाघको समयमा हुनेछ । गहुँ, तोरी लगाउने समय असार साउनमा हुनेछ । आरु, पैंयु फुल्दा वसन्त ऋतु लाग्यो भनिन्थ्यो तर आरु मंसिरको अन्तिमतिरै हेमन्त ऋतुमै फुल्ने गरेको देखिएको छ । त्यसरी नै सयपत्री, मखमली, लालीगुराँस आदिे समय अगावै फुल्न थालेका छन् । काल चक्रमै पूर्णतः परिवर्तन आउनेछ । त्यसैले प्रकृति प्रदत्त ऋतु अनुसारको समय मिलान गर्न पनि जरुरी भइसकेको छ ।

हैन, यो नेपालमा मात्र हुने हो कि बाह्य मुलुकमा पनि ?
पर्व सुधारका नाममा यो ऋतु सुधार पनि हो । यसको व्यापक चर्चा बाह्य मुलुकहरुमा पनि त्यत्तिकै छ । पात्रो सच्याउने कार्य सामान्य भए पनि यसलाई बुझ्न र बुझाउन जरुरी छ । सामान्य छलफल चलाएर बढी बुझाउन खोज्दा केही विवाद पनि उब्जिएका छन् । एक महिना अगाडि सार्ने भन्ने कुरा ब्रह्माण्डमा भएका चलायामान ग्रहका अवस्था हेरेर सार्ने वैज्ञानिक पद्धति हो । सूर्य, चन्द्रमा लगायतका ग्रहको प्रभाव नेपालमा मात्र नभइ विश्वव्यापी छ । तसर्थ ग्रहको विचलनले सारा मुलुकहरुमा नै प्रभाव पार्दछ । भारत सरकारले सन् १९५७ देखि आफ्नो क्यालेण्डर मार्च २१ को दिनलाई चैत १ मानेर मिलाइ सकेको छ । पोप ग्रेगरीले क्रिस्चियन क्यालेन्डरलाई बेलायतमा सन् १५८२ मा १० दिन मिलाइसकेका छन् । जर्मनीले सन् १७०० मा आफ्नो क्यालेण्डर सुधारे । नेपालमा १५,०० वर्ष पहिले क्यालेण्डर आंशिक रुपमा सुधार गरिएको कुरा बराहमिहिरले व्यक्त गरेका छन् । युरोप, रुस, आदि मुलुकमा आफ्नो मुलुकको क्यालेन्डर मिलाइ मिलाइ सकेका छन् । तर बुझ्नुपर्ने कुरो के छ भने क्यालेन्डर सच्याउने कार्य जहाँजहाँ भयो त्यहाँ त्यहाँ विवादीत बन्ने गरेको छ ।

अहिलेको पञ्चाङ्ग नै अपाङ्गजस्तो हो र ?
परम्परागत हैसियतले आइरहेको पञ्चाङ्ग आजको दिनसम्म आइपुग्दा निकै नै सुधार भइरहेका छन्, हुँदै छन् पनि । तर पनि मूल एक महिना सार्ने अघि सार्ने काम जसलाई मन्वन्तर सुधार भनिन्छ, यो बारेमा चाहिँ पञ्चाङ्ग निर्णायक समिति यथेष्ट ज्ञानको कमीले गर्दा पछि परेका छन् । खगोल विज्ञान, गणित तथा फलित बीच २०६४ सालबाट आजको मिति आइपुग्दा सबैले महसुस गरेर पनि लागू पर्व सुधारसम्बन्धी काम हुन सकिरहेको छैन ।
शास्त्रीय रुपमा सबैभन्दा छोटो दिन माघे संक्रान्ति र सबैभन्दा लामो दिन साउने संक्रान्ति हुन्छ । त्यसरी नै माघे संक्रान्तिमा उत्तरायण र साउने संक्रान्तिमा दक्षिणायन हुनुपर्ने र दिनरात बराबर हुने वैशाख संक्रान्ति तथा कार्तिक संक्रान्ति पर्नुेपर्ने प्रावधान छ । तर पञ्चाङ्मा पुस ७ गते सबैभन्दा छोटो दिन, असार ७ सबैभन्दा लामो दिन संक्रान्तिका दिन परेका छैनन् । नत दिनरात बराबर हुने दिन व्यवहारिक रुपमा मिलेको छ । यस अर्थमा भन्दा खुलस्तसित लेख्न नसक्ने पञ्चाङ्ग अपाङ्ग नै हुन् भन्दा फरक परोइन् ।

समग्रमा भन्दा देश, काल र परिस्थितिसित चल्नु आजको आवश्यकता हो । यदि समय पर्व सुधार गरेर लैजाने हो मानसिक, आध्यात्मिक दुवै तवरले हाम्रा उद्देश्यहरु सफल हुन्छन् । त्यसैले आजमा दिन पर्व सुधार अपरिहार्य छ ।

लेखक पर्व समय सुधार राष्ट्रिय समाज नेपाल गण्डकी प्रदेश अध्यक्ष हुन् ।

kalyanpanta@yahoo.com