विश्वलाई समाजवादको नयाँ मोडल दिन चाहेका छौं : प्रचण्ड

74

साउन १०,
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समाजवाद निर्माणका लागि सरकारले ‘समृद्ध नेपाल, सुखी नेपाली’ को नारा अघि सारेको बताएका छन्। सामाजिक न्यायसहितको समृद्धि निर्माण गरेर आफ्नो पार्टीले विश्वमा समाजवादको नयाँ मोडल प्रस्तुत गर्न चाहेको उनले बताए। शुक्रबारदेखि काठमाडौंमा सुरु भएको ‘एसिया प्यासिफिक कन्फरेन्स अफ सोलिडारिटी विथ क्युबा’को दुई दिने सम्मेलनको उद्घाटनमा अध्यक्ष प्रचण्डले समाजवाद निर्माणका लागि क्युबाको कम्युनिष्ट पार्टीले खेलेको भूमिकाको खुलेर प्रसंसा गरे।

क्युबा एउटा राष्ट्र मात्रै नभएर विश्वका कम्युनिस्टहरुको आदर्श भूमि पनि भएकाले त्यसबाट सिकेर विश्वका कम्युनिस्ट पार्टीहरुले आफूलाई अघि बढाएको पनि उनको भनाइ छ। अध्यक्ष प्रचण्डले क्युबाले सर्वहारा वर्गको उत्थानका लागि लडेको लडाइ विश्वभरकै कम्युनिस्टहरुका लागि आदर्श बनिरहने दावी गरे। उनले आफ्नो पार्टीले पनि जनताको विश्वास जितेर दुई तिहाई बहुमतको बलियो सरकार बनाएको उल्लेख गर्दै अब समाजवाद निर्माणको आधार तय गर्दै अघि बढने प्रतिवद्धता व्यक्त गरे।