माइक्रो बससँग ठोक्किएर खोलामा खस्यो, १३ घाइते

95

साउन ६,
धादिङ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको थाक्रे गाउँपालिका-१ खयरघारीमा बससँग ठोक्किएर माइक्रो बस खोलामा खस्दा १३ जना घाइते भएका छन् ।
काठमाडौंबाट भैरहवातर्फ जाँदै गरेको लु २ ख २१३४ नम्बरको बसले चितवनबाट काठमाडौंतर्फ आउँदै गरेको बा ५ ख ३१५१ नम्बरको माइक्रोलाई सोमबार बिहान सवा ८ बजेतिर ठक्कर दिएको थियो । माइक्रो बस सडकबाट करिब २५ मिटर तल चिसापानी खोलामा खसेको छ ।

दुर्घटनामा घाइते भएका सबैलाई उपचारका लागि काठमाडौंस्थित ट्रमा सेन्टरमा पठाइएको जिल्ला प्रहरी कार्यालय धादिङका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक रुपक खड्काले जानकारी दिए । खड्काका अनुसार बस चालक नवलपरासीको बर्दघाट नगरपालिका-७ बस्ने २३ वर्षीय अंकित रेग्मीलाई इलाका प्रहरी कार्यालय खानीखोलाले नियन्त्रणमा लिएको छ । दुर्घटनापछि पनि बाटोमा कुनै अवरोध नभएको प्रहरीले जनाएको छ ।