साउन ६,
भक्तपुर । साउन पहिलो सोमबार आज भक्तपुरका विभिन्न स्थानमा रहेका शिव मन्दिरहरुमा भक्तजनहरुको भीड् लागेको छ । सूर्यविनायक नगरपालिका वडा नम्बर ८ मा रहेको केदारनाथको शिर डोलेश्वर महादेव, आशापुरी महादेव, पलाँसेको रहेको अग्लो शिव मूर्ती, भक्तपुर नगरपालिका दतात्रय मन्दिरमा सोमबार बिहान २ बजेदेखि नै भक्तजनहरु लाइन बसेर दर्शन गरिका छन् ।
अन्यत्र भन्दा डोलेश्वर महादेव मन्दिरमा भक्तजनको आज बिहानैदेखि भीड लागेको केदारनाथको शिर डोलेश्वर महादेव संरक्षण तथा विकास समितिका कोषाध्यक्ष मोहन वल्लले जानकारी दिएका छन् ।
मेलामा काठमाडौं, ललितपुर, भक्तपुर र काभ्रेका विभिन्न ठाउँबाट भक्तजनहरु दर्शन गर्न आएका छन् । मन्दिरमा बिहान ३ बजेदेखि भक्तजनहरु पुजाआजा तथा मन्दिर दर्शनका लागि लाईनमा पालो कुरिरहेका थिए । २०६६ साल भाद्र ६ गते केदारनाथको शिर घोषणा गरिएपछि हरेक वर्षको श्रावण महिनाभरी मन्दिरमा पूजा पाठका लागि भक्तजनको भीड लाग्ने गरेको छ ।
यसैबीच केदारनाथको शिर डोलेश्वर महादेव संरक्षण तथा विकास समितिको आयोजनमा श्रावण १ गतेबाट ३८ दिने श्रावणी मेला सञ्चालन भईरहेको समितिका प्रवक्ता तथा पूर्वअध्यक्ष बिदुरमानसिंह बस्नेतले जानकारी दिए । शिवको आराधना अनि जल चढाउने कामनाका साथ अझ बढी भक्तजनले यहाँ दर्शन गर्नु हुने उनले जानकारी दिए । साउन महिनाको सोमबार हिन्दुधर्मालम्बीहरू यस माहिनालाई विशेष महिनाको रूपमा मनाउने गर्दछन् । मुख्य रूपमा नेपालको जुनसुकै भूभागमा बस्ने मानिसहरूले पनि यस महिना विशेष रूपमा भगवान् शिवको पुर्जा अर्चनाका साथ ब्रत बस्ने परम्परा रहेको छ ।
हिन्दु धर्मावलम्बीका लागि सोमबारको दिन विशेष महत्वको दिन हो । यस दिन धेरै महिलाहरु भगवान शिवको व्रत बस्दछन् । साउन महिनाको सोमबार भक्तपुरको सिपाडोलस्थित केदारनाथको शिर डोलेश्वरको मन्दिर, ललितपुरका शिव मन्दिर, भक्तपुरको दत्तात्रय मन्दिर, काभ्रेका मन्दिरहरू र भगवान पशुपति मन्दिरमा विभिन्न ठाउँबाट श्रद्धालु भक्तजनहरुको घुइँचो लाग्ने गर्दछ ।