नेकपामा वैचारिक विवाद ज्युँका त्युँ, स्कुल विभाग तानातान

139

कान्तिपुर दैनिक
साउन ६,
काठमाडौँ । नेकपाभित्र वैचारिक नेतृत्व गर्ने विभागको जिम्मेवारी कसले लिने भन्ने विवाद झनै उग्र भएको छ । उक्त विभागमा पूर्वएमाले पक्षका ईश्वर पोखरेल र पूर्वमाओवादी पक्षका नारायणकाजी श्रेष्ठको दाबी परेकाले आन्तरिक टकराव तीव्र भएको हो । पोखरेल र श्रेष्ठ दुवै नेकपाको शीर्ष नेताहरू रहेको नौ सदस्यीय सचिवालयका नेता हुन् । यो विवाद टुंगोमा पुग्न नसक्दा आइतबार बसेको सचिवालय बैठकले जिल्लाका इन्चार्ज र सहइन्चार्जहरूको मात्र नामावली सार्वजनिक गर्‍यो । विभागहरूबारे छलफल गर्न मंगलबार फेरि बैठक बोलाइएको छ ।

सचिवालयमा रहेका अध्यक्षद्वय र महासचिवबाहेकका नेताले पार्टीभित्र महत्त्वपूर्ण मानिने विभागहरू लिने सैद्धान्तिक समझदारी छ । त्यसअनुसार वरिष्ठ नेताद्वय माधव नेपालले विदेश र झलनाथ खनालले नीति तथा अनुसन्धान विभाग लिने सहमति भएको छ । त्यस्तै वामदेव गौतमले संगठन विभाग सम्हाल्नेछन् । पोखरेलले संगठन र स्कुल विभागमध्ये आफूलाई एक दिए हुने बताएका थिए । गौतमलाई संगठन दिने समझदारी भएपछि स्कुल विभाग स्वतः आफूले पाउनुपर्ने उनको अडान छ ।

पूर्वमाओवादी पक्षले स्कुल विभाग आफ्नो भागमा राखेर त्यसको नेतृत्व श्रेष्ठलाई दिनुपर्ने दाबी गरिरहेको छ । आइतबार बिहान अध्यक्ष पुष्पकमल दाहालको निवासमा बसेको पूर्वमाओवादी पक्षधर नेताको बैठकमा नेताहरूले स्कुल विभागको दाबी छोड्न नहुने धारणाराखेका थिए । पार्टीभित्र महत्त्वपूर्ण मानिने विदेश, संगठनजस्ता विभाग पूर्वएमालेले पाएपछि विचारको नेतृत्व आफूहरूले नै गर्न पाउनुपर्ने उक्त पक्षका नेताहरूको भनाइ छ ।

आइतबारको बैठकमा अध्यक्ष दाहालले नेता श्रेष्ठलाई स्कुल विभागमा आफूहरूले प्रस्ताव गरेको र पूर्वएमाले पक्षबाट पोखरेलले पनि यही विभाग दाबी गरेको जानकारी गराएका थिए । ‘तर विचारको नेतृत्व हामीले नै गर्नुपर्छ भन्ने धारणा तय भएको छ,’ दाहाल निवासको छलफलमा सहभागी एकनेताले भने, ‘ईश्वर पोखरेललाई विचारको नेता मान्न सकिँदैन ।’ पोखरेलले भने विगतको एमालेको वैचारिक अवधारणा जोगाइराख्न पनि आफूलाई नै यो विभाग दिइनुपर्ने अडान राखिरहेका छन् ।

जनताको बहदलीय जनवादकै मर्ममा पार्टी अघि बढेकाले यसलाई जोगाउन स्कुल विभाग पूर्वएमाले पक्षले लिनुपर्ने उनको धारणा छ ।‘रूपमा जे भने पनि पार्टीले जनताको बहुदलीय जनवाद स्विकारेको छ । आजको नयाँ अवस्थामा पार्टीलाई अघि बढाउन उहाँले स्कुल विभागको नेतृत्व लिन खोज्नुभएको हो,’ पोखरेल निकट केन्द्रीय सदस्य सूर्य थापाले भने, ‘उहाँ दुई पटक पार्टी महासचिव भएको र पुष्पकमल दाहालभन्दा अघिदेखि भूमिगत भएर काम गरेको व्यक्ति हो ।’ पोखरेल आफैंले भने यसबारे सार्वजनिक रूपमा बोल्न चाहेका छैनन् । उनले नेताहरूसमक्ष आफ्नो अडान र पार्टीमा खेलेको भूमिकाबारे बताइसकेका छन् ।