बाढीबाट बच्न घरभित्र बाघ पसेपछि…

131

एजेन्सी, साउन ५,
काठमाडौं । बाढीबाट बच्नको लागि सुख्खा र सुरक्षित स्थान खोज्दै एउटा बाघ घरभित्र ओछ्यानमा आराम गरिरहेको अवस्थामा फेला परेको छ। यो घटना हो भारतको बाढीग्रस्त क्षेत्र आसाम राज्यको। आसामको बाढीले प्रभावित काजिरंगा राष्ट्रिय निकुञ्जबाट आफ्नो ज्यान जोगाउन उक्त बाघ घरभित्र पसेको हो।

बाघ घरभित्र ओछ्यानमा आराम गरिरहेको वन्यजन्तु अधिकारीहरूले सार्वजनिक गरेको भिडिओमा प्रष्ट देखिन्छ। सो भिडिओमा टिनको छानोमा रहेको एउटा प्वालबाट बाघले बाहिर चियाइरहेको देखिन्छ। उक्त घरका मालिक र उनको परिवारले बाघलाई घरभित्र आउँदै गरेको देखेपछि उनीहरू घर छाडेर भागेका थिए।

काजिरंगा राष्ट्रिय निकुञ्जमा हालैको बाढीमा परी ९२ वन्यजन्तुको ज्यान गएको छ। थकित बाघलाई दिनभरि घरमा सुत्न दिइएको थियो र साँझ परेपछि वन्यजन्तु संरक्षण अधिकारीहरूले उसलाई जङ्गलतर्फ धपाएका थिए। जङ्गलतर्फ जाने सुरक्षित मार्ग बनाएर बाघलाई त्यता धपाइएको थियो। (बीबीसी)