विप्लवको संगठनमा प्रहरीको धावाः उपत्यका ब्यूरो इन्चार्ज पक्राउ

114
तस्विरः माइला लामाको फेसबुकबाट

साउन ५,
काठमाडौं । नेपाल प्रहरीले प्रतिबन्धित विप्लव नेतृत्वको नेकपा कम्युनिस्ट पार्टी (नेकपा)को संगठनमा धावा बोलिरहेको छ । फागुन २८ गते सरकारले विप्लव समूह्लाई प्रतिबन्ध लगाएयता सो समूहका शीर्ष नेतासहित ५०० भन्दा बढी नेता कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिइसकेको छ । प्रहरीले गएराती उपत्यका ब्यूरो इन्चार्ज माइला लामालाई प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा काठमाडौंको काँडाघारीबाट उनलाई प्रहरीले आइतबार मध्यराती पक्राउ गरेको हो । प्रहरीले लामालाई विशेष सूचनाको आधारमा काँडाधारीबाट राती साढे १२ बजेतिर पक्राउ गरेको स्रोतले जानकारी दिएको छ ।

उनका अनुसार माइला लामासँगै रेशम तामाङलाई पनि पक्राउ गरिएको छ । प्रहरीले राजधानीका विभिन्न स्थानमा भएको बम विस्फोटका घटना लामाको निर्देशनमा भएको दाबी गर्दै आएको छ ।
लामा विप्लव समूहभित्रको एक प्रभावशाली नेता मानिन्छन् । विभिन्न समयमा राजधानीको तीन स्थानमा बम विस्फोट हुँदा ६ जनाको ज्यान गएको थियो । विप्लव समूहलाई प्रतिबन्ध लगाउनुअघि गत फागुन १० गते ललितपुरको नख्खुस्थित एनसेल टावरलाई लक्षित गरेर भएको बम विस्फोटमा एक सर्वसाधारणको मृत्यु भएको थियो भने अरु २ जना घाइते भएका थिए ।