असार २८,
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेलले बाढि, पहिरो पीडितलाई आफ्नो दलका सांसदहरुले एक महिनाको तलब सहयोग गर्ने स्पष्ट पारेका छन् ।
उनले भने,‘हाम्रो पार्टीको केन्द्रिय कार्यसमिति बैठक जारी छ । हामी हात फुकाएर सहयोग गर्छौं । राहत तथा उद्धारको लागि हाम्रो पार्टीको पूरै नेटवर्क परिचालन गर्छौं ।’ पौडेलले अहिले सार्वजनिक भएको जनधनको क्षतिको विवरण बाहिर आएजतिमात्रै नभएर त्यो भन्दा अझै धेरै संख्या रहेको सुनाए । उनले भने,‘अहिले जनधनको क्षतिको पूर्ण विवरण आएको छैन् ।’
सरकारले बाढि तथा पहिरो प्रभावितलाई तत्काल राहतको कार्यक्रम ल्याएर सम्बोधन गर्नुपर्नेमा त्यसमा ढिलाई भैरहेको उनको गुनासो छ । उनले भने,‘पीडितको राहतको लागि सरकारले ठोस ढंगबाट राहतका कार्यक्रम ल्याउनुपर्छ । ढिला भैसक्यो । २० दिनपछि राहत दिएर हुँदैन् ।’ पीडितहरुको उद्धार तथा राहतमा सबैले स्वयमसेवी ढंगबाट परिचालित हुन आवश्यक रहेको पनि पौडेलको भनाई छ । उनले भने,‘हामीले नेता तथा कार्यकर्ताहरुलाई आह्वान गरिसकेका छौं । हामीले आफ्नो संगठनात्मक क्षमता अनुसार परिचालन गरिरहेका छौं । कसरी जाने भन्ने विषयमा पार्टीभित्र अहिले पनि छलफल जारी छ ।’
उनले असार, साउनमा त सधैं बाढि, पहिरोको जोखिम र खतरा रहेको जान्दाजान्दैपनि सरकार यसप्रति गम्भिर नभएको आरोप लगाए ।