एजेन्सी, असार २७,
काठमाण्डौं । बिजनेस म्यागजिन ‘फोर्ब्स’ ले दुनियाँभरमा एक वर्षमा सबैभन्दा धेरै कमाई गर्ने सेलिब्रेटीको सूची सार्वजनिक गरेको छ । यसमा भारतबाट बलिउड अभिनेता अक्षय कुमार मात्र परेका छन् । यसपटक यो लिस्टबाट अभिनेता सलमान खान बाहिरिएका छन् । यसअघि सबैभन्दा धेरै कमाउने सेलिब्रेटीको सूचीमा बलिउडबाट सलमान खान, अमिताभ बच्चन, शाहरुख खान र अक्षय कुमार पर्ने परेका थिए ।
तर, अब यो सूचीमा मात्र अक्षय बचेका छन् । एक वर्षमा सबैभन्दा धेरै आम्दानी गर्ने सेलिब्रेटीको सूचीमा उनी ३३औं नम्बरमा छन् । उनको गत वर्ष कूल कमाई ६५ मिलियन डलर (करीब ४४४ करोड रुपैयाँ) छ । उनले कमाईको मामलामा हलिउडका थुप्रै सुपरस्टारलाई समेत पछाडि पारेका छन् । उनी रिहाना, ज्याकी च्यान, ब्रेडली कूपर, स्कारलेट जोनसनजस्ता कलाकारभन्दा अगाडि छन् ।
सूचीमा उनी रोबर्ट डाउनी जूनियरको नजिक पुगेका छन् । यो लिस्टमा गायिका टेलर स्विफ्टले गएको वर्ष १८.५ करोड डलरको कमाई गर्दै पहिलो स्थान हासिल गरेकी छन् । गत वर्ष १७० मिलियन डलरको कमाई गर्दै दोस्रो नम्बरमा काइली छिन् । कान्ये वेस्ट तेस्रो, अर्जेन्टिनाका चर्चित फुटबलर लियोन मेसी चौथो र पाँचौ स्थानमा ब्रिटिश सिंगर एड शीरन परेका छन् ।
अक्षय कुमार यो समय बलिउडका सबैभन्दा व्यस्त अभिनेता मध्येका एक हुन् । केही वर्षयता उनले देशभक्ति फिल्म बढी गरिरहेका छन् र यही उनको करिअरको टर्निङ प्वाइन्ट पनि बनेको छ । उनी अभिनीत नयाँ फिल्म ‘मिशन मंगल’ १५ अगस्टमा रिलिज हुँदैछ । यो फिल्ममा देशको यस्तो सफलता देखाइएको छ, जो इतिहासको पान्नामा लेखिएको छ । फिल्मका निर्देशक जगन शक्ति हुन् ।