लोकतन्त्रको रक्षाका गर्नका लागि गोली चलाईयो : गृहमन्त्री

58

असार २४,
काठमाडौँ । गृहमन्त्री रामबहादुर थापा बादलले लोकतन्त्रको रक्षा गर्ने क्रममा सर्लाहीमा प्रहरीले फायरिङ गर्दा कुमार पौडेलको मृत्यु भएको मंगलबारको प्रतिनिधिसभा बैठकमा बताएका छन् । पौडेललाई नियन्त्रणमा लिएर हत्या गरिएको दाबी गर्दै कांग्रेसले सरकारको जवाफ मागेको थियो । मंगलबारको प्रतिनिधिसभा बैठकमा पनि प्रमुख सचेतक पुष्पा भुसालले सर्लाही घटनाबारे छानविन गर्न माग गरिन् ।

लगत्तै गृहमन्त्री थापाले सदनलाई जवाफ दिए । राज्य व्यवस्था समितिको निर्देशनपछि बनेको छानविन समितिले समेत पौडेलको मृत्यु दोहोरो भिडन्तमा भएको रिपोर्ट बुझाएको मन्त्री थापाले जानकारि गराए । पौडेलले पनि मिस फायरिङ गरेको र प्रहरीको जवाफी कारबाही गर्दा उनको मृत्यु भएको गृहमन्त्रीले बताए ।तर, सांसदहरुले पौडेलको हात भाच्चिएको भन्दै त्यस्तो हातले कसरी गोली चलायो भन्ने प्रश्न गरे । बरु शान्ति सुरक्षा कायम गर्ने र लोकतन्त्रको रक्षा गर्ने क्रममा सर्लाही घटना घटेको बताएका छन् । उनले भने, ‘यी घटनाहरु देशमा शान्ति सुव्यवस्था कायम गर्ने क्रममा घटेका हुन् । र, लोकतन्त्रको रक्षा गर्ने क्रममा घट्न गएका हुन् ।’

‘सरकार लोकतन्त्रको रक्षा गर्न प्रतिवद्ध छ । देशमा शान्ति सुव्यवस्था कायम गर्न प्रतिवद्ध छ । जनताको जनादेश पनि त्यही छ, मन्त्री थापाले भने, ‘यसैक्रममा यी घटना घटेका हुन् ।’ सर्लाहीमा विप्लव समूहले चन्दा आतंक मच्चाएको, जनप्रतिनिधिलाई धम्की दिएको र उनीहरुकै मागअनुसार शान्ति सुव्यवस्था, जनताको जिउधनको रक्षा गर्न सरकारले चदम चालेको बताए । ‘यही क्रममा घटना हुन गएको हो,’ उनले भने । यसैवीच, गृहमन्त्रीको अभिव्यक्तिप्रति प्रमुख विपक्षी कांग्रेसले आपत्ति जनाएको छ । कांग्रेसका प्रमुख सचेतक बालृकष्ण खाँडले लोकतन्त्रको रक्षाका लागि गोली चलाइयो भन्नु आपत्तिजनक भएको बताए । विप्लव समूहका सर्लाही इञ्चार्ज पौडेलको ५ असारमा सर्लाहीमा भएको भिडन्तमा मृत्यु भएको थियो ।