Thursday, October 1, 2026
Home अन्तर्राष्ट्रिय हास्यकलाकार राष्ट्रपति बनेको देशमा रक स्टार सांसद उठ्दै

हास्यकलाकार राष्ट्रपति बनेको देशमा रक स्टार सांसद उठ्दै

107

एजेन्सी, असार २३,
केइभ । युरोपेली मुलुक युक्रेनमा साढे २ महिनाअघि एक जना हास्यकलाकारले राष्ट्रपतिको चुनाव जिते। कुनै बेला टेलिभिजनमा राष्ट्रपति भएको अभिनय गर्ने ४१ वर्षीय भोलोदमिर जेलेन्स्की ७३ प्रतिशत मत पाएर राष्ट्रपति चुनिए। सर्भेन्ट अफ द पिपुल अर्थात् जनताको सेवक नामको हास्य टेलिसिरियलमा युक्रेनको कुलीनतन्त्रलाई तोड्दै संयोगवस राष्ट्रपति बन्ने पात्रको अभिनय गर्ने जेलेन्स्कीलाई युक्रेनीहरूले वास्तविकतामै संस्थापनविरूद्धको प्रतीकका रूपमा अर्थ्याए र राष्ट्रपति बनाए।

अहिले एकजना रक स्टार पनि जेलेन्स्कीको जस्तै गरी राजनीतिमा होमिइरहेका छन्। ४४ वर्षीय रक स्टार स्भियातोस्लाभ भाकार्चुकले आगामी जुलाई २१ मा हुने संसदीय चुनावका लागि अहिले प्रचार प्रसार गरिरहेका छन्। उनले पनि युक्रेनको कुलीनतन्त्रविरोधी मुद्दालाई जोडतोडका साथ उठाएका छन्। ओकेइन एल्जी ब्यान्डका यी गायक अहिले ठाउँठाउँमा कन्सर्ट गर्छन्। उनी गीत गाउनुभन्दा पहिला माइकबाट सोध्छन्- यो देश जसरी चलिरहेको छ, यो देख्दा तपाईंहरूलाई दिक्क लाग्छ कि लाग्दैन?

त्यसपछि उनी माइक दर्शकतिर फर्काउँछन्। भीडबाट चर्को हुटिङ आउँछ। उनी फेरि सोध्छन्- हामीमध्ये कति वास्तविक परिवर्तन चाहन्छौं, हामीमध्ये कति अहिलेको पूरानो राजनीतिदेखि थाकेका छौं? उनी फेरि माइकमा भीडतिर फर्काउछन्। भाकार्चुकले आफ्नै पार्टी खोलेका छन्- भ्वाइस नामको। गत मेमा पार्टी स्थापना गरेपछि उनी देशका विभिन्न स्थानमा गएर संस्थापनविरोधी मत आफूतिर तान्न प्रयत्नरत छन्। ठाउँठाउँमा कन्सर्ट गरिरहेका छन्।

विभिन्न मत सर्भेक्षणले राष्ट्रपति जेलेन्स्कीको जनताको सेवक पार्टीले संसदीय चुनाव जित्ने देखाएका छन्। चुनावबाट भाकार्चुकको दल तेस्रो पार्टी बन्ने सम्भावना छ। त्यसो भएको खण्डमा सरकार बनाउन जेलेन्स्की र भाकार्चुकको दलबीच गठबन्धन हुन सक्छ।Setopati.com