राष्ट्रपतिबाट राष्ट्र बैंकको भवन शिलान्यास

107

असार २३,
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले बालुवाटारस्थित नेपाल राष्ट्र बैंक केन्द्रीय कार्यालयको नयाँ भवनको आज एक समारोहबीच शिलान्यास गरेकी छन् ।
सो अवसरमा राष्ट्रपति भण्डारीले मुलुकको आर्थिक क्षेत्रको प्रवर्द्धन र नियमका साथै अनुशासन कायम राखी उच्च आर्थिक वृद्धि र स्थायित्वका लागि केन्द्रीय बैंकको भूमिका प्रभावकारी हुने बताउँदै उक्त भवन निर्धारित समयमै सम्पन्न हुने कामना गरिन् । उक्त भवन विसं २०७२ को विनाशकारी भूकम्पबाट प्रभावित भएको थियो ।

उनले आम नेपालीमा विश्वास र भरोसा भएको बैंकले आगामी दिनमा जारी गर्ने मौद्रिक नीतिले ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय सङ्कल्पलाई साकार गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिइन् । “कृषि, उद्योग, जलस्रोत र पर्यटन जस्ता क्षेत्रमा लगानी बढाएर मुलुकको छिटो आर्थिक तथा सामाजिक रुपान्तरण गर्नुपर्छ”, राष्ट्रपति भण्डारीले भनिन्, “ऐतिहासिक विरासत बोकेको यो बैंक र यसको भवन समग्र बैंकिङ प्रणालीमा अत्याधुनिक र मौलिक प्रतिबिम्ब बन्न सक्नुपर्छ ।”-रासस