नेपालसँग पर्यटन दूतको ४५ वर्षे साइनो

155

असार २३,
काठमाडौं । एरिक भाली, फ्रान्सका प्रसिद्ध फोटोग्राफर र फिल्म निर्देशक। भालीले निर्माण गरेका फिल्म नेपालमा निकै लोकप्रिय छन्। उनका धेरै फिल्म, डकुमेन्ट्री नेपालमा बनेका छन्। नेपाललाई माया गर्ने भालीले नेपालको हिमाली क्षेत्रमा छायांंकन गरी ओस्कारमा मनोनित भएको चलचित्र–क्याराभान (हिमालय) नेपालीमाझ निकै लोकप्रिय छ। भाली गत साता पेरिसबाट काठमाडौं ओर्लिए। यसपटक उनी कुनै चलचित्र या डकुमेन्ट्रीको छायांकनका लागि आएका होइनन्। सन् २०२० को राष्ट्रिय कार्यक्रम आयोजकले उनलाई सद्भावना दूतको रूपमा नियुक्त गर्न उनलाई आमन्त्रण गरेको हो। क्याराभान (हिमालय) नामक चलचित्र र हनिहन्टर जस्ता वृत्तचित्रमार्फत् उनले नेपालका विभिन्न जातिजनजातिलाई समेत विश्वभर चिनाए। हिमाली क्षेत्रमा चौरी चराउने शेर्पा हुन् या हनिहन्टर वृत्तचित्रमा कैद भएका पश्चिमाञ्चलमा बस्ने गुरुङ समुदाय हुन्। भाली सबै नेपालीलाई उत्तिकै माया गर्छन्। नेपालप्रति सद्भाव राख्छन्।

नेपाल उनलाई आध्यात्मको केन्द्र लाग्छ। नेपालमा अझै चलचित्र छायांकन गर्ने उनको योजना छ। ‘प्राकृतिक विविधतायुक्त धर्तीको सुन्दर र अनुपम टुक्रा नेपालको आफ्नो जादूमय छवि छ’, उनले भने, ‘नेपालको भूगोल, यहाँका मानिसले मलाई यहाँ चलचित्र छायांकनका लागि लोभ्यायो। त्यो लोभ त अझै बाँकी छ।’ त्यसो त उनले हिमाली दृश्यांकनमा विशिष्टता हासिल गरेका छन्भन्दा हुन्छ। हिमालयका जानकार हुन्। उनको फोटो कथा हनिहन्टर–पहाडमा चढने पश्चिम नेपालका गुरुङ समुदायको कथा हो। यही फोटोकथाबाट उनले वल्र्ड प्रेस अवार्ड जस्तो प्रतिष्ठित अवार्ड हात पारेका हुन्।

क्याराभानचाहिँ सन् १९९९ मा खिचिएको। नेपालको हिमालय क्षेत्रको साहसिक पर्यटनको पर्याय बनेको छ। फिल्म बनाउने मोह त छ। ‘अबको फिल्मलेचाहिं मेरो पहिचानलाई बदल्नेछ’, उनले हाँस्दै भने, ‘अब काठमाडौं, पोखरामा छायांकन गरेर माया प्रेमको फिल्म बनाउने हो।’ ‘४५ वर्षअघि पहिलोपटक नेपाल आएको भनेपछि म कति बुढो भए होला ? ,’ उनले उल्टै प्रश्न तेस्र्याए, ‘त्यहाँदेखि अहिलेसम्म नेपालसँग निकट छु। नेपालसँगको मेरो नाता निकै घनिभूत छ।’

नेपालले अध्यात्मिकताको पहिचानलाई कायमै राख्नुपर्छ। यसलाई नासिन दिनुन हुने उनको तर्क छ। ‘अध्यात्ममा निकै ताकत (शक्ति ) छ, यसलाई नासिन दिनुहुँदैन’, उनले भने, ‘नेपालका हिमालयका आधारभूमि ध्यानका केन्द्र हुन्।’ उनले भ्रमण वर्षजस्ता कार्यक्रमले पर्यटकको संख्यात्मक उपस्थितिभन्दा गुणात्मक उपस्थिति र नेपालसँगको प्रगाढ नाता महत्वपूर्ण हुनेभन्दै पर्यटकसँग नेपाललाई माया गरेर बारम्बार नेपालको भ्रमण गर्ने बनाउन सुझाए।-Annapurnapost.com