असार २२,
काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीकी सांसद पम्फा भुसालले सैनिक श्रीमती संघ खारेज गर्न माग गरेकी छन्। आइतवार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै पूर्वमन्त्रीसमेत रहेकी भुसालले देश गणतन्त्रमा गइसकेपछि संविधान प्रतिकुल रहेका संघ/संगठनहरु खारेज गर्न माग गरेकी हुन्।प्रतिनिधिसभाको विषेश समयमा बोल्दै सांसद भुसालले राजतन्त्र रहँदा सामन्ती पितृसत्तावादी सोचका आधारमा स्थापित निकायहरु खारेज गर्न सरकारसँग माग गरेकी हुन् ।
उनले प्रधानसेनापतिबाट आफ्नी श्रीमतीलाई महारानी नभन्न दिएको निर्देशनको पनि उनले स्मरण गरिन्। ‘आफ्नी श्रीमतीलाई महारानी नभनियोस् भनी प्रधानसेनापतिले निर्देशन दिएको सुनें, त्यो राम्रै कुरा हो’, उनले भनिन्, ‘अब श्रीमती संघहरु पनि खारेज गरियोस्, सेना-पुलिसकै बजेटबाट श्रीमती संघ चल्नु ठीक भएन।’ ‘देशमा गणतन्त्र आएको १० वर्ष बितेको छ। संघीय संरचना अनुसार संविधान आयो, त्यही संविधानका आधारमा कानुन पनि बने’, उनले भनिन्, ‘तर देशमा अझै पनि पितृसत्तावादी सोच राज्यका महत्वपूर्ण निकायमा सक्रिय छन्।’ अहिले पनि देशमा राजतन्त्रात्मक परिपाटी कायमै रहेको भन्दै भुसालले चिन्ता जनाइन्। ‘हिजोको शाही नेपाली सेना अहिले नेपाली सेना भइसकेको छ।
तर त्यहाँ अझै पनि सैनिक श्रीमती संघ छ’, उनले भने, ‘नेपाल प्रहरी र सशस्त्र प्रहरी र निजामती कर्मचारीमा पनि श्रीमती संघ विद्यमान छन् । हिजोको परिवार र वंशवादमा आधारित पितृ सत्तावादी सोचका आधारमा खडा भएका निकाय खारेज हुनुपर्छ।’ राजतन्त्र हटेपनि त्यसको झल्को दिने अवशेषहरु अझै रहेको उनले सुनाइन्। ‘त्यस्ता श्रीमती संघहरु अझै यथावत छन्। राज्यकै बजेटबाट ती संगठन चलेका छन्’, उनले भनिन्, ‘आफ्नो श्रीमानका हैसियतबाट खुलेका राजतन्त्रकालिन पितृसत्तावादी श्रीमती संघहरु खारेज हुनुपर्छ।’