नेपाली तरकारीको मात्र विषादी परीक्षण

399

असार २२,
काठमाडौँ । कालीमाटी तरकारी बजारमा नेपालमै उत्पादित तरकारीहरूको मात्र विषादी परीक्षण हुने गरेको छ। द्रुत विश्लेषण प्रयोगशाला इकाई कालीमाटीले आइतबार नेपालमा उत्पादित तरकारीको विषादी परीक्षण गरिएको जनाएको छ। नेपाल सरकारले भारतबाट आउने सबै तरकारी र फलफूलको विषादी परीक्षण गर्ने बताएको थियो तर मेसिन अभाव भन्दै तत्कालका लागि भारतीय तरकारीको विषादी परीक्षण गरेको छैन।

नेपालमा उत्पादन भएका तरकारीको विषादी नभएको प्रयोगशाला इकाइका प्राविधिक जागेश्वर शर्माले बताए। उनका अनुसार नेपालमा उत्पादन भएका तरकारीभन्दा भारतका तरकारीमा बढी विषादी पाइएको छ। आइतबार कालीमाटीमा विभिन्न प्रकारका नेपाली तरकारीको परीक्षण गरिएको शर्माको भनाइ छ। उनका अनुसार स्थानीय बजारमा उत्पादित भिन्डी,प्याज, आलु ,बोडी र आलुको विषादी परीक्षण भएको छ । सरकारको अर्को आदेश नभएसम्म नेपालमा उत्पादित तरकारीको मात्र विषादी परीक्षण गरिने उनले प्रतिक्रिया दिए। नेपाली बजारमा उत्पादित तरकारीमा पनि विषादी पाइने भएकोले विषादी परीक्षण गर्नुपरेको उनले स्पष्ट पारे । भारतले चर्को दबाब दिएपछि नेपाल सरकारले भारतबाट आएका तरकारीको विषादी परीक्षण नगर्न आदेश दिएको थियो।