बेलायती राजकुमार ह्यारी र पत्नी मेगनका लागि तामाको बाथटब

185

एजेन्सी, असार १७,
काठमाडौं । तामाबाट बनेको बाथटब बेलायतका राजकुमार ह्यारी र उनकी पत्नी मेगनको घर फ्रगमोर कटेजमा राखिएको छ । बाथटब उनीहरूले बेडरूममै राखेका छन् र पश्चिममा अहिले त्यसै गर्ने फेशन चलेको छ । यो बाथटब विलासी वस्तु बनाउने कम्पनी विलियम होल्यान्डले निर्माण गरेको हो । यसको मूल्य सात लाख रुपैयाँ पर्छ । अनि कोठामा राखिएका टाइलहरू स्पेनका पुराना भवनहरूबाट झिकेर कालीगढहरूले निकै मेहनतका लागि जीवन्त बनाएका हुन् ।

ती टाइल एउटाको ७०० रुपैयाँ पर्छ र यो समयसँगै पुरानो भएर एकखाले डिजाइन बनेको छ । त्यसले फेशन बढाएको छ । राखेको केही दिनमै बेडरूमको कार्पेटमा ह्यारी र मेगनको एक कुकुरले फोहोर पारिदिएपछि कार्पेट परिवर्तन गर्नुपरेको छ । सफाइकर्मीले दाग हटाउन कोशिश गरेको भए पनि कमलो वस्तुमा प्रयोग भएको तरल पदार्थले त्यसलाई झनै खराब बनाइदिएको बताइएको छ । त्यसपछि नयाँ कार्पेट ल्याइएको हो । ह्यारी र मेगनको घरको रंगरोगन गर्नका लागि २४ लाख पाउन्ड खर्च भएको छ र त्यो जनताले तिरेको करबाटै आउने हो । तर तामाको बाथटब जस्तो विलासी वस्तु चाहिँ उनीहरूले आफ्नै निजी स्रोतबाट तिर्नेछन् ।