चीनको भीडभाडयुक्त सहरमा एकाएक चर्को आवाजमा ‘काउन्ट डाउन’ घण्टी बजेपछि…

359

असार १६,
काठमाडौँ । गत साता चीनका भीडभाडयुक्त सहरमा एकाएक चर्को आवाजमा ‘काउन्ट डाउन’ घण्टी बज्यो । लगत्तै टेलिभिजन स्क्रिनहरूमा एक, दुई, तीन, चार, पाँच…. का संकेतहरू ‘पपअप’ हुन थाले । चर्को आवाजको उल्टो गन्ती र टेलिभिजन हेरिरहेका दर्शक पहिलो पटकको अनुभव गरिएको संकेतले अचम्मित पारेपछि भागदौड सुरु भयो ।

चीनको दक्षिण–पश्चिम प्रान्त सछान (सिचुवान) को छाङनिङ काउन्टीस्थित यिपिन सहरमा १७ तारिख साँझ गएको ६ रेक्टर स्केलको भूकम्पका क्रममा देखिएको यस्तो दृश्य चिनियाँ सामाजिक सञ्जालमा अहिले भाइरल भएको छ । भूकम्पमा एक दर्जनभन्दा बढीको ज्यान गयो भने सयौं घाइते भए । भूकम्पमा तुलनात्मक कम मानवीय क्षति हुनुका पछाडि भूकम्प पूर्वसंकेतलाई मानिएको छ ।

के भूकम्पको भविष्यवाणी गर्न सकिन्छ भन्ने प्रश्नमाथि बहस चलिरहेका बेला प्रविधिले दिएको सानो सफलताले पनि धेरैलाई उत्साहित बनाएको छ । यद्यपि सछान प्रान्तले प्रयोग गरेको प्रविधि भविष्यवाणी नभएर पूर्व संकेत मात्रै हो ।
हालसम्मका विज्ञान प्रविधि वा ज्योतिषशास्त्रले पनि भूकम्पको भविष्यवाणी गर्न नसक्ने भनिन्छ । कुनै पनि देशले भूकम्प आउन सक्ने प्रविधि विकसित गर्न सकेका छैनन् । त्यसैले सछानले प्रयोग गरेको चेतावनी प्रणालीचाहिँ भविष्यवाणी होइन ।

सछान प्रान्तमा प्रयोग गरिएको साइरन १० सेकेन्ड मात्रै बजेको थियो । दस सेकेन्डभित्र कति मानिसको ज्यान जोगाउन सकिन्छ भन्ने यकिन गर्न सकिँदैन । सछान प्रान्तीय, भूकम्प प्रयोगशाला पूर्वचेतावनी तथा छङ्तु हाइटेक विपत्ति न्यूनीकरण इन्स्टिच्युटका निर्देशक वाङ वेइले भने, ‘यदि भूकम्पको पूर्वचेतावनी ३ सेकेन्डअघि मात्रै पाउन सकियो भने १४ प्रतिशत मानवीय हताहती कम गर्न सकिन्छ । १० सेकेन्ड अघि पाउन सकियो भने हताहतीको संख्या ३९ प्रतिशतले कम गर्न सकिन्छ ।’

उनका अनुसार यदि वनछान भूकम्पको बेलामा यस्तो प्रविधि भइदिएको भए करिब २० देखि ३० हजार मानिसको ज्यान जोगाउन सकिन्थ्यो । २००८ को सो भूकम्पमा ८७ हजारको ज्यान गएको थियो । चिनियाँ सर्वसाधारणबाट यस पूर्वसंकेत प्रणालीप्रति सकारात्मक प्रतिक्रिया पाइएको छ ।

पूर्व चेतावनी पाउनेबित्तिकै हाइस्पिड रेल रोक्न सकिन्छ । लिफ्टबाट बाहिरिन सकिन्छ । विद्युतीय उपकरणहरू छुटाउन सकिन्छ । सुरक्षित क्षेत्रतर्फ भाग्न सकिन्छ । तर त्यसका लागि पर्याप्त सक्रियता चाहिन्छ र एपिसेन्टर नजिक वा टाढा भएअनुसार चेतावनी ढिलोचाँडो हुन सक्छ । त्यसो हुँदा भूकम्पको म्याग्निच्युड, केन्द्रविन्दु र अन्य सूचना तत्काल तथ्यगत पाउन नसकिने पनि हुन सक्छ । त्यसैकारण धेरैले यो प्रविधि भरपर्दो नभएको तर्क पनि गर्छन् ।

सिन्हवा समाचार समितिका अनुसार छङ्तु भूकम्प पूर्वचेतावनी सञ्जालको निर्माण छङ्तु हाइटेक विपत्ति न्यूनीकरण तथा आपत्कालीन व्यवस्थापन विभागले संयुक्त रूपमा मिलेर बनाएका हुन् । यसले २.२ मिलियन वर्ग किलोमिटर क्षेत्रफल र भूकम्पीय जोखिममा रहेका ९० प्रतिशत जनसंख्या समेट्ने गरी संरचना बनाएको हो । मे २८ तारिखदेखि यो सञ्जाल सछान प्रान्तका ६० प्रतिशत अर्थात् ७९ जिल्ला र काउन्टी, १३ प्रिफेक्चर गरी उच्च भूकम्पीय जोखिम भएका क्षेत्रफलसम्म विस्तार गरिएको हो ।

छङ्तु इन्स्टिच्युट अफ हाइटेक डिजेस्टर रिडक्सन र जापान मौसम विज्ञान एजेन्सी, यी दुईटा संस्थाका वार्निङ सञ्जाल चीन, जापान र नेपालमा राखिएको छ । नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान नास्टमा १० देखि २२ सेकेन्डसम्म पूर्वचेतावनी दिन सक्ने प्रविधि जोडिएको चिनियाँ सञ्चारमाध्यमहरूले लेखेका छन् । चीनको सछानकै इन्स्टिच्युटको सहयोगमा यो प्रविधि नेपालमा राखिएको उल्लेख छ । Kantipur.com