असार १५,
काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य तथा पूर्व उपप्रधानमन्त्री भीम रावलले पार्टीको विधानमै जनताको जनवाद घोषित नीति रहेकोले यसप्रति अनावश्यक विवाद सिर्जना गर्न नहुने स्पष्ट पारेका छन् । आइतबार राजधनीमा भएको एक साक्षात्कारमा बोल्दै नेता रावलले पार्टीको विधानमै जनताको जनवाद नीति अवलम्बन गरिएको सुनाए । उनले भने,‘यही कुरा शीर्ष नेताहरुबीच सहमति भएको हो । कसले र किन पार्टीको नीतिबारे यसरी विवाद सिर्जना गरेको हो ? मैले बुझ्न सकेको छैन ।’
उनले पार्टी एकताको सन्दर्भमा गरिएका सबैखाले प्रतिबद्धताहरु पूरा गर्नुपर्ने धारणा राखे । नेकपाको आन्तरिक विधानमा अभिलिखित नीतिलाई सबैले पालना गर्नुपर्ने उनको जोड छ । उनले थपे,‘पार्टी एकीकरणका बेला भएका सहमति सबैले मान्नुपर्छ । यसबाट कोही पनि विचलित हुनुहुँदैन् ।’ कसैलाई पार्टीको नीति मन नपरे केन्द्रिय कमिटिमा राख्नुपर्ने पनि उनले सुझाए ।
नेता रावलले भने,‘यदि पार्टीको नीतिबारे चित्त बुझेको छैन भने पार्टीको केन्द्रिय कमिटीमा विचार राखिनुपर्छ ।’ यद्धपी केन्द्रिय कमिटीको बैठक नबसेको धेरै लामो समय भएकोमा उनले गुनासो पोखे । त्यस्तै, स्थायी कमिटीको बैठकपनि पुसदेखि यता बस्न नसकेको उनले टिप्पणी गरे । पार्टीको बैठक नबसेको कारण आफ्ना कुरा राख्न नपाएको पनि उनले गुनासो पोखे । उनले भने,‘मैले जे कुरा बोलेको छु, सबै पार्टीको घोषित नीतिअनुसारनै बोलेको छु ।’
रावलले जनताले नेकपालाई ठूलो जिम्मेवारी दिएर सरकारमा पठाएको सुनाए । उनले भने,‘जनताले हामीलाई ठूलो जिम्मेवारी दिएर पठाएका छन् । संविधान, नेकपाको विधान, जनताको आकांक्षालाई केन्द्रविन्दुमा राखेर अघि बढ्नुपर्छ ।’ सरकारले कतिपय राम्रा कामहरु गरेको उनको दाबी छ ।
तर, सरकारको कामको समिक्षा पार्टीले गर्नुपर्नेमा उक्त काम अहिलेसम्म नभएकोमा रावलले आक्रोश पोखे । उनले भने,‘यो सरकार देश र जनताप्रति जिम्मेवार बन्नुपर्छ । सरकारले आफ्ना कमजोरीहरुलाई आत्मसात गर्नुपर्छ । सरकारले देशको हितमा काम गर्नुपर्छ ।’
फरक प्रसँगमा उनले आईफा अवार्डको लागि एक अर्व दिन लागिएको विषयमा गम्भिर आपत्ति जनाए । उनले भने,‘भारतीय चलचित्र पुरस्कार आईफाको आयोजनाका लागि काठमाडौं महानगरले ४४ करोड दिने, नेपालको करिब १ अर्ब लगानी हुने र त्यसलाई सरकारले स्वीकृति दिएको खबर सुन्दा आश्चर्य लागेको छ, हाम्रो पार्टीको स्थायी कमिटी बैठक भए जान्न पाइन्थ्यो कि ?’
उनले सरकारले नेपाली चलचित्रको लागि कति पैसा दिएको छ ? भन्दै प्रश्न गरे । उनले भने,‘कुनै हिसाबकिताब छ ? हामीले स्थान उपलब्धता र सुरक्षाको प्रबन्ध गर्ने हो । उहाँहरुप्रति सद्भाव देखाउने हो । यत्रो रकम किन खर्चिनुपर्यो ? म प्रश्न गर्न चाहन्छु।’
कतिपयले यो अवार्डको लागि सरकारले सहयोग गर्दा नेपालको पर्यटन क्षेत्रको प्रर्वद्धन र विकास हुने भनेर गरेको टिप्पणीप्रति आफ्नो असहमति रहेको रावलको भनाई छ।
रावलले अहिलेपनि कर्णाली प्रदेशमा सडक, शिक्षा तथा स्वास्थ्य अवस्था नाजुक रहेको सुनाए । जनताको करबाट उठाएको यत्रो रकम अर्काको देशलाई किन खर्च गर्नुपर्यो भन्दै रावलले प्रश्न गरे । उनले भने,‘यो विषयमा पनि पार्टीमा छलफल हुनुपर्छ । यसको प्रभाव र असरबारे छलफल हुनुपर्छ ।’ पछिल्लो समय धेरै विषयहरु उठिरहेको सुनाउँदै यी समग्र विषयमा पार्टीभित्र गम्भिर छलफल हुनुपर्ने पनि रावलले आवश्यकत्ता महशुस गरे ।