असार १०,
काठमाडौं । आफ्नो समूहका सर्लाही इञ्चार्ज कुमार पौडेल हत्याको विरोधमा प्रतिबन्धित विप्लव नेतृत्वको नेकपाले मंगलबार आहृवान गरेको बन्दले देशभरको जनजीवन प्रभावित भएको छ । बन्दकर्ता सडकमा नदेखिए पनि काठमाडौं उपत्यकामा बिहान बन्दको असर देखिएको छ । अन्य दिनको तुलनामा काठमाडौं उपत्यकाका सडक बिहान सुनसान देखिएका छन् । निजी सवारी फाट्टफुट्ट चले पनि बन्दको त्रासले सार्वजनिक सवारी नगन्य मात्रामा चलेका छन् । सडकमा साविकअनुसार सवारी साधन नचल्दा जनजीवन प्रभावित भएको छ ।
महानगरीय ट्राफिक प्रहरी कार्यालयले बिहान कम सवारी साधन चले पनि विस्तारै सडकमा चाप पर्दै गएको जनाएको छ । काठमाडौं उपत्यकाबाट बाहिरिने लामो दूरीका सवारी साधन त मंगलबार बिहानैदेखि ठप्प छन् । महानगरीय ट्राफिक प्रहरी कार्यालयका अनुसार, एकाधबाहेकका सवारी उपत्यकाबाट बाहिरिएका छैनन् । देशकै प्रमुख लाइफलाइन पृथ्वी राजमार्गमा बन्दको प्रभाव देखिएको छ । यो खण्डमा बिहानैदेखि सवारी साधन चलेका छैनन् । मुग्लिन प्रहरीका अनुसार, निजी सवारी साधन फाट्टफुट्ट चलेको देखिए पनि बसलगायतका सार्वजनिक गाडी गुडेका छैनन् । बन्दको प्रभाव उपत्यकाको सवारी आवागमनसँगै शैक्षिक संस्था, कलकारखानालगायतमा पनि परेको छ । काठमाडौं उपत्यकाका विद्यालय तथा क्याम्पसहरुले त्रासका कारण छुट्टी दिएका छन् ।
बन्दको प्रभाव देशका अन्य भागमा पनि परेको छ । देशका ठूला तथा साना सहरमा आन्दोलनकारीको निशानामा पर्ने त्रासमा सवारीसाधन चलेका छैनन् । सवारी साधनसँगै शैक्षिक संस्था र कलकारखानामा पनि बन्दले प्रभावित भएका छन् । कतिपय स्थानमा शंकास्पद वस्तु भेटिएपछि जनजीवन त्रस्त बनेको छ । ललितपुरको जावलाखेल खेल मैदान अगाडि भेटिएको प्रेसर कुकर बम पनि सेनाको टोलीले निष्कृय पारेको छ ।
काठमाडौंको कीर्तिपुरस्थित नयाँबजार गेट नजिक भेटिएको शंकास्पद बस्तु भेटिए पनि उक्त बस्तु बम नभएको खुलेको छ । प्रहरीका अनुसार प्लास्टिकको भाँडोमा माटो भरेर राखिएको थियो । यद्यपि बम भएको आशंकामा स्थानीयले खबर गरेपछि नेपाली सेनाको टोलीले सो क्षेत्र वरपरको नियन्त्रणमा लिएर अनुसन्धान गरेको थियो ।