रेशम चौधरीको विडम्बनाः जनताले सांसद बनाए, अदालतले कैदी बनायो, सरकारले साङ्लो लगायो

122

नवराज मैनाली ( नयाँ पत्रिका दैनिक)
असार ८, काठमाडौं । अस्पताल भर्ना गरेपछि सामान्यतया कुनै पनि कैदीबन्दीलाई नेल–हत्कडी लगाइँदैन । तर, फोक्सो र बोनम्यारोमा समस्या देखिएर थलिएका निलम्बित सांसद रेशम चौधरीलाई वीर अस्पतालमा भर्ना गर्दा भने प्रहरीले खुट्टामा फलामे साङ्लो लगायो । कारागार व्यवस्थापन नियमावलीविपरीत नेल लगाइएपछि प्रधानमन्त्री केपी ओलीले नेल खोल्न र संलग्न कर्मचारीमाथि कारबाही गर्न निर्देशन दिए । यसलगत्तै कर्मचारी तथा प्रहरीमाथि कारबाही प्रक्रिया पनि सुरु भएको छ ।

टीकापुर हत्या प्रकरणमा अदालतबाट दोषी ठहर भई जन्मकैद सजाय पाएका चौधरीलाई बिहीबार वीर अस्पतालमा भर्ना गरिएको थियो । बेडमा रहँदासमेत उनलाई नेल लगाइएको थियो । चौधरीको नेलसहितको तस्बिर बाहिरिएपछि यसबारे चर्चा सुरु भएको थियो । यो चरम अमानवीय व्यवहार भएको भन्दै जेल र प्रहरी प्रशासनको आलोचना भएको थियो । प्रहरी अधिकारीहरूले भने चौधरी भाग्न सक्ने कारण देखाएर नेल लगाइएको बताएका छन् ।

जेलरको आदेशमा चौधरीलाई लगाइयो नेल
चौधरीलाई जेलरको आदेशमा नेल लगाइएको प्रहरी अधिकारीहरूले बताएका छन् । डिल्लीबजार कारागारमा जेलर अर्जुन पोखरेल कार्यरत छन् । स्रोतका अनुसार चौधरी भाग्न सक्ने भन्दै जेल प्रशासनले नै उनलाई अस्पतालमा समेत नेल लगाउने निर्णय गरेको थियो । तर, यो विषय प्रहरीको अधिकार क्षेत्रमा पर्ने भन्दै पोखरेल पन्छिए । प्रहरीले नै सुरक्षा अवस्था हेरेर नेल वा हत्कडी लगाउनेबारे निर्णय गर्ने उनले बताए ।