भक्तपुरमा ‘ग्रासरुट फुटबल लिग- २०७६ सुरु’

130

असार ८,
भक्तपुर । भक्तपुरको मध्यपुरथिमीमा रहेको मध्यपुर युथ एशोसिएसनले आयोजना गरेको एम वाई ए विकेण्ड ग्रासरुट फुटबल लिग २०७६ सुरु भएको छ ।
सानो उमेरदेखि नै फुटबल खेलप्रति आर्कषण बढाउनका लागि ६ वर्षदेखि १३ वर्षसम्मका विद्यार्थीहरुका लागि आयोजित सो स्पर्धामा जिल्लाका १२ स्कुलका २४ टिमको सहभागिता रहेको एशोसिएसनका अध्यक्ष एवं राष्ट्रिय खेलाडी उपेन्द्रमान सिंहले बताउनुभयो ।
प्रतियोगीता अन्तर्गत पहिलो दिन १० वटा म्याच सम्पन्न भएका छन् ।६ महिनासम्म यो प्रतियोगीता हरेक शनिबार संचालन हुने र एक सय ३२ म्याच हुने एसोसियसनले जनाएको छ ।
फुटबलको बलियो र पहिलो जगको रुपमा स्वीकारिएको ग्रासरुट फुटबल खेलले बालबालिकालाई खेलप्रति आकर्षित गर्नुका साथै स्वस्थ, निरोगी र अनुशासित बनाउन पनि सहयोग पुग्ने एशोसिएसनका अध्यक्ष उपेन्द्रमान सिं प्रधानले बताउनुभयो ।
प्रतियोगिताको उद्घाटन एन्फा अध्यक्ष कर्माछिरीङ्ग शेर्पाले गर्नुभएको थियो । मध्यपुर थिमी नगरपालिकाको सहयोगमा संचालित लिग उद्घाटन कार्यक्रममा नगरप्रमुख मदनसुन्दर श्रेष्ठ,राष्ट्रिय खेलाडी लगायतको सहभागीता रहेको थियो ।
शिक्षाको लागि फुटबल खेल भन्ने नाराका साथ अखिल नेपाल फुटबल संघ(एन्फा)को कार्यक्रम अन्तर्गत सुरु भएको यस्तै प्रतियोगीता देशका ४५ जिल्लामा संचालन हुँदैछ ।
जस अन्तर्गत एक हजार ८० स्कुलका ५ हजार ४ सय खेलाडी सहभागी हुने एन्फा उपाध्यक्ष समेत रहेका उपेन्द्रमानले बताउनुभयो ।पहिलो पटक एन्फाकै पाईलट प्रोजेक्टको रुपमा सुरु भएको यस प्रकारको फुटबल लिग जिल्ला ,प्रदेश हुँदै राष्ट्रिय स्तरमा ९ महिना आयोजना हुनेछ ।
प्रतियोगिता अण्डर टेन र अण्डर थर्टिन दुई उमेर समुहमा हुने छ ।
गत बर्ष एसोसियसनले आयोजना गरेको ग्रासरुट होम एण्ड अवे फुटबल लिगको उपाधि भक्तपुर नगरपालिका वडा नं. १ स्थित राजर्षि गुरुकूलले जितेको थियो ।