धादिङ जीप दुर्घटना अपडेट:५ जनाको मृत्यु,१० घाइते

138

असार ६,
काठमाडौँ । धादिङको गल्छी गाउँपालिका ६ बाझगाउँमा शुक्रबार जिप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा गल्छी गाउँपालिका ४ का राजु रम्तेल, सेतु मिजार , सबिता अधिकारी र गल्छी गाउँपालिका ६ का नानु तामाङ, कान्छी भुजेल रहेका छन् । दुर्घटनामा अन्य १० जना घाइते भएका छन् । घाइते हुनेहरुमा गल्छी गाउँपालिका ४का कान्छी भुजेल, बिष्णु अधिकारी, सुनिता मिजार, सुजिता अधिकारी, सन्तोष रम्तेल, कृष्ण सार्की, रेनु भण्डारी, राम कृष्ण प्याकुरेल, शुष्मा लामा र अन्य दुईको पहिचान खुल्न सकेको छैन ।

कच्ची सडकको उकालोमा जाँदै गरेको जिप चढ्न नसकेर पछाडि फर्केपछि सडकबाट तल झरेको थियो । प्रहरी उपरीक्षक राजकुमार बैदवारका अनुसार कार्कीगाउँबाट तरकारी लिएर वैरेनीतर्फ आउँदै गरेको बा १८ च ९४०८ नम्बरको जीप गल्छी गाउँपालिका ६ को बाझगाउँमा दुर्घटना भएको हो । जिप सडकबाट २० मिटर तल खसेको प्रहरीले जनाएको छ । प्रहरी उपरीक्षक बैदवारका अनुसार तरकारी बिक्री गर्न बजार झरेका किसानहरु जिपमा चढेका थिए ।

दुर्घटनामा घाइते भएका १० जनाको धादिङको गल्छी, धार्केका विभिन्न अस्पतालमा उपचार भइरहेको छ । गम्भीर घाइतेहरुलाई भने उपचारको लागि काठमाडौंस्थित ट्रमा सेन्टर पठाइएको उनले बताए ।