नेपाल र भारतले विकासका लागि सहकार्य गर्नुपर्छ : भारतीय राजदूत पुरी

184

असार ६,
काठमाडौँ । नेपालका लागि भारतीय राजदूत मञ्जीवसिंह पुरीले पूर्वीय दर्शनको एउटा अङ्ग योगको विकासका लागि नेपाल र भारतले सहकार्य गर्नुपर्नेमा जोड दिएका छन् । पाँचौँ अन्तरराष्ट्रिय योग दिवसका अवसरमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आज यहाँ आयोजना गरेको योगाभ्यास तथा प्रवचन कार्यक्रमलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् ।

त्यस्तै कार्यक्रममा नेपाल संस्कृत विश्वविद्यालय योग तथा प्राकृतिक चिकित्सा विभागका प्रमुख डा।हरिप्रसाद पोखरेलले प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद्ले पनि योग, प्राकृतिक चिकित्सा, जडीबुटी, आयुर्वेदलगायत पाठ्क्रम तयार पारेकाले यसको क्षेत्र विस्तार हुने आशा व्यक्त गरे । योग र प्राकृतिक चिकित्साको शिक्षण अस्पतालसमेत नेपालमा खुल्न लागेको जानकारी पनि उनले दिए । आदिकालमा ‘योग सबैका लागि सधैँका लागि’ भनेर चिनिएकाले त्यो मान्यता पुनस्थापना हुनुपर्ने बताउँदै डा।पोखरेलले ‘अष्टावक्र गीता’लाई राष्ट्रिय ग्रन्थका रुपमा घोषणा गर्न सरकारसँग माग गरे ।

स्वामी आनन्द अरुणले धर्म, अर्थ, काम र मोक्ष चार पुरुषार्थ प्राप्तिका लागि शरीर स्वस्थ हुनुपर्ने एवं त्यसका लागि नियमित योगाभ्यास आवश्यक रहेकामा जोड दिए । अहङ्कार एटम बमभन्दा खतरनाक भएकाले शान्त रहन योग तथा ध्यानको अभ्यास जरुरी रहेको विचार उनले राखे ।

कार्यक्रमअघि रत्नपार्कस्थित शान्तिवाटिकाबाट शुरु भएको प्रभातफेरी बागबजार, पुतलीसडक, प्रदर्शनीमार्ग हुँदै राष्ट्रियसभागृ पुगेको थियो । प्रभातफेरीमा योग एवं ध्यानका क्षेत्रमा कार्यरत विभिन्न संस्थाका सदस्यको सहभागिता थियो । कार्यक्रममा प्रधानमन्त्री केपी ओली, शिक्षा मन्त्री गिरिराजमणि पोख्रेल लगायतको उपस्थिति रहेको थियो ।-रासस