खाडीकामा तापक्रम ६३ डिग्रीसम्म पुगेपछि दिउँसो काम गर्न रोक

117
फाइल तस्बिर

असार ३,
काठमाडौँ । विगत एक हप्तादेखि बढेको तापक्रमका कारण खाडीका ६ देशको तापक्रम प्रभावित बनेको छ । तापक्रम ६३ डिग्रीसम्म पुगेपछि मध्याह्नको समयमा श्रमिकलाई काम गराउन रोजगारदाता कम्पनीहरूलाई रोक लगाएको छ । बहराइन, कुवेत र ओमनले १ जुलाईदेखि ३१ अगस्टसम्म, कतारले १५ जुनदेखि ३१ अगस्टसम्म, साउदी अरबले १५ जुनदेखि १५ सेप्टेम्बरसम्म र यूएईले १५ जुनदेखि १६ सेप्टेम्बरसम्म मध्याह्नको समय श्रमिकलाई काम नलगाउन रोजगारदाता कम्पनीलाई उर्दी जारी गरेको अरबी न्यूजले समाचार सम्प्रेक्षण गरेको छ ।

यस्तै, बहराइनले मध्याह्न १२ देखि ४ बजेसम्म, कुवेतले बिहान ११ देखि ४ बजेसम्म, ओमनले मध्याह्न १२.३० देखि ३.३० सम्म, कतारले ११.३० देखि ३ बजेसम्म, साउदीले १२ देखि ३ बजेसम्म र यूएईले १२.३० देखि ३ बजेसम्म काम नलगाउन रोजगारदाता कम्पनीलाई निर्देशन दिएको छ । मध्याह्नमा काम लगाउने रोजगारदाता कम्पनीलाई कानूनी कारबाही हुने चेतवानी समेत दिएको छ । निर्णय उल्लंघन गर्ने कम्पनीलाई आर्थिक कारबाही गरिने जनाइएको छ । खाडीका देशमा तापक्रम बढेर यो वर्षकै उच्च विन्दुमा पुगेको छ । कुवेतमा अहिलेसम्मकै उच्च ६३ डिग्रीसम्म तापक्रम मापन भएको समाचार जनाइएको छ ।

अन्य देशमा दैनिक ६० डिग्री तापक्रम पुग्ने गरेको छ । खाडीका देशमा करिब २० लाखभन्दा धेरै नेपाली कार्यरत रहेको सरकारी अनुमान छ । खाडीका देशमा रहेका नेपाली कूटनीतिक नियोगले पनि दिन बाहिर नहिडन त्यहाँ रहेका नेपाली अपिल गरेको छ ।