आतंककारी हमलापछि श्रीलंका भ्रमण गर्ने पहिलो विदेशी सरकार प्रमुख मोदी

72

जेठ २६,
काठमाडौँ । माल्दिभ्सको औपचारिक भ्रमणपछि भारतका प्रधानमन्त्री नरेन्द्र मोदी आइतवार श्रीलंका पुगेका छन् । मोदीलाई श्रीलंकाका समकक्षी रनिल विक्रमसिंघेले कोलम्बोमा स्वागत गरे । मोदीले र विक्रमसिंघेसँग औपचारिक भेट गर्नेछन् । प्रधानमन्त्री मोदीले भ्रमण अघि गत अप्रिल २१ गते इस्टर सन्डेको दिन भएको आतंककारी हमलाबाट गुज्रिएका श्रीलंकाको सरकार र जनतासँग आफू सँगै भएको सन्देश दिएका थिए ।

आतंककारी हमलापछि श्रीलंकाको औपचारिक भ्रमण गर्ने मोदी पहिलो विदेशी सरकार प्रमुख हुन् ।’एक महत्त्वपूर्ण यात्रा, एउटा मूल्यवान छिकेकीसँग दोस्तीको बलियो बन्धनलाई प्रस्तुत गरेको छ,’ श्रीलंका भ्रमण जानुअघि मोदीले एक ट्वीट गर्दै भारत र श्रीलंकाबीच बलियो सम्बन्ध रहेको बताएका थिए ।मोदीले श्रीलंकाका प्रधानमन्त्रीका साथै पूर्व राष्ट्रपति तथा विपक्षी दलका नेता महिन्दा राजापाक्षसँग पनि भेट गर्ने कार्यक्रम रहेको छ ।

प्रधानमन्त्री भएपछि ‘बे अफ बङ्गाल इनिसियटिभ (बिमस्टेक) राष्ट्रहरूसँगको सम्बन्धमा बढी जोड दिएका मोदीले दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क)लाई खासै महत्त्व दिएका छैनन् । पाकिस्तान विरोधी छबी देखाएर लोकसभामा बहुमत ल्याएका मोदीले पाकिस्तान र अफगानिस्तान बाहेकका अन्य छिमेकी देशसँग मित्रताको सम्बन्ध बलियो बनाउने दिशातर्फ कदम चालेका छन् ।

माल्दिभ्स बिमस्टेकको सदस्य नभएपनि पहिलो विदेश भ्रमण माल्दिभ्सबाटै गरेर मोदीले आफ्नो छिमेक नीतिका बारेमा महत्त्वपूर्ण सन्देश दिएका छन् । श्रीलंका भने बिमस्टेक सदस्य राष्ट्र हो । दोस्रोपटक प्रधानमन्त्रीको सपथ खाएपछि मोदीले आफ्नो पहिलो विदेशभ्रमण माल्दिभ्स र श्रीलंकाबाट शुरू गरेका छन् ।