तरुण दलको मागः राधे भण्डारीलाई रिहा गर

191

जेठ २५,
ललितपुर । नेपाल तरुण दलले गुण्डागर्दीको झूटो आरोप लगाएर आफ्नो कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको दाबी गरेको छ । प्रहरीले केहीदिन अघि धादिङ जिल्ला उपाध्यक्ष समेत रहेका राधाकृष्ण (राधें) भण्डारीलाई पक्राउ गरेको थियो । कांग्रेस केन्द्रीय कार्यालय सानेपामा शनिबार पत्रकार सम्मेलन गरी तरुण दलले बिनाकसुर प्रहरीले पक्राउ गरेको भन्दै उनलाई तत्काल रिहा गर्न माग गरेको छ ।
किटानी जाहेरी दिएको भनिएका व्यक्तिले होइन भन्दाभन्दै राज्यले नै किर्ते कागज बनाएर भण्डारीलाई फसाउन खोजेको तरुण दलको आरोप छ ।

तरुण दलले भण्डारीलाई तत्काल रिहा नगरे देशव्यापी आन्दोलन गर्ने चेतावनी दिएको छ । तरुण दलका अध्यक्ष जितजंग बस्नेतले घटना भएको भनिएको स्थानमा उपस्थित नै नभएको व्यक्तिलाई राजनीतिक प्रतिशोधका कारण मात्र पक्राउ गरिएको आरोप लगाए । भण्डारीविरुद्ध किटानी चाहेरी दिएको भनिएका घाइते जनक मगरले पनि आफूले घटना भएको स्थानमा देख्दै नदेखेको र चिन्दै नचिनेको व्यक्ति विरुद्ध जबरजस्त रुपमा प्रहरीले किटानी जाहेरी लेखेर आफूलाई हस्ताक्षर गर्न लगाएको दाबी गरे ।