पुलिस स्टेशनमा १७ वर्षदेखि बन्द डिब्बामा भेटियो किशोरको कंकाल

143

एजेन्सी, जेठ २३,
काठमाडौँ ।भारतको पुणेमा रहेको कोथरुड पुलिस स्टेशनमा १७ वर्ष पुरानो मानव कंकालको मंगलबार पुलिसले अन्तिम संस्कार गरेको छ । पुलिस स्टेशनको पुनर्निर्माणको क्रममा उक्त कंकाल कोठाको एउटा डब्बामा बन्द भेटिएको हो । शवको पहिचान गरेपछि यसबारे परिवारलाई पनि जानकारी दिइयो ।

कोथरुड पुलिसलाई उद्धृत गर्दै भारतीय संचार माध्यमका अनुसार पुणेमा बस्ने १६ वर्षका निखिल रणपिसे नामका किशोरको सन् २००२ मा हत्या भएको थियो । उनको शव एमआइटी कलेजको पछाडि क्षत–विक्षत अवस्थामा भेटिएको थियो । दुई वर्षसम्म यो घटनाको अनुसन्धान चल्यो र सन् २००४ मा हत्याको सत्यतथ्य पर्दाफास भयो ।

पुलिसका अनुसार निखिलको हत्याको आरोप उनका दुई साथीमाथि लागेको थियो । चोरीको पैसा बाँड्ने विषयमा झगडा हुँदा उक्त विवाद भएको थियो । निखिलको एक आफन्तको घरमा उनीहरुले चोरी गरेका थिए । यद्यपि, प्रमाणको अभावमा आरोपी निर्दोष साबित भए र अदालतले उनीहरुलाई रिहा गरे । त्यसपछि निखिलको शव कोथरुड पुलिस स्टेशनको एउटा डिब्बामा बन्द गरेर राखियो । पुलिसले परिवारलाई उनको शव लैजान पनि भनेको थियो तर कोही पनि लिन आएनन् । त्यसको केही दिनपछि नै उनीहरु पुणेबाट स्थानान्तरण गरे ।

केही दिन अघि पुलिस आयुक्तका वेन्कटेशमले पुलिस थानाको पुनर्निर्माणको काम सुरु गरे । पुलिस थानाको एक कोठाको सफाई गर्नेबेला यो कंकाल भेटेको हो । पुलिसले थानाको सबै रेकर्ड हेरेपछि उक्त कंकाल निखिलको भएको पत्ता लाग्यो । त्यसपछि निखिलको अभिभावकको खोजी भयो । सम्पर्क पनि भयो तर उनका पिताले रोग र उमेरको हवाला दिँदै छोराको कंकालको अन्तिम संस्कार गर्न अस्विकार गरे ।पुलिसले अन्तिम संस्कार गराउँछ भने आफूहरु उपस्थित हुने पिताले बताएपछि १७ वर्ष पुरानो निखिलको कंकालको अन्तिम संस्कार गरियो ।