Thursday, October 1, 2026
Home अन्तर्राष्ट्रिय पुलिस स्टेशनमा १७ वर्षदेखि बन्द डिब्बामा भेटियो किशोरको कंकाल

पुलिस स्टेशनमा १७ वर्षदेखि बन्द डिब्बामा भेटियो किशोरको कंकाल

154

एजेन्सी, जेठ २३,
काठमाडौँ ।भारतको पुणेमा रहेको कोथरुड पुलिस स्टेशनमा १७ वर्ष पुरानो मानव कंकालको मंगलबार पुलिसले अन्तिम संस्कार गरेको छ । पुलिस स्टेशनको पुनर्निर्माणको क्रममा उक्त कंकाल कोठाको एउटा डब्बामा बन्द भेटिएको हो । शवको पहिचान गरेपछि यसबारे परिवारलाई पनि जानकारी दिइयो ।

कोथरुड पुलिसलाई उद्धृत गर्दै भारतीय संचार माध्यमका अनुसार पुणेमा बस्ने १६ वर्षका निखिल रणपिसे नामका किशोरको सन् २००२ मा हत्या भएको थियो । उनको शव एमआइटी कलेजको पछाडि क्षत–विक्षत अवस्थामा भेटिएको थियो । दुई वर्षसम्म यो घटनाको अनुसन्धान चल्यो र सन् २००४ मा हत्याको सत्यतथ्य पर्दाफास भयो ।

पुलिसका अनुसार निखिलको हत्याको आरोप उनका दुई साथीमाथि लागेको थियो । चोरीको पैसा बाँड्ने विषयमा झगडा हुँदा उक्त विवाद भएको थियो । निखिलको एक आफन्तको घरमा उनीहरुले चोरी गरेका थिए । यद्यपि, प्रमाणको अभावमा आरोपी निर्दोष साबित भए र अदालतले उनीहरुलाई रिहा गरे । त्यसपछि निखिलको शव कोथरुड पुलिस स्टेशनको एउटा डिब्बामा बन्द गरेर राखियो । पुलिसले परिवारलाई उनको शव लैजान पनि भनेको थियो तर कोही पनि लिन आएनन् । त्यसको केही दिनपछि नै उनीहरु पुणेबाट स्थानान्तरण गरे ।

केही दिन अघि पुलिस आयुक्तका वेन्कटेशमले पुलिस थानाको पुनर्निर्माणको काम सुरु गरे । पुलिस थानाको एक कोठाको सफाई गर्नेबेला यो कंकाल भेटेको हो । पुलिसले थानाको सबै रेकर्ड हेरेपछि उक्त कंकाल निखिलको भएको पत्ता लाग्यो । त्यसपछि निखिलको अभिभावकको खोजी भयो । सम्पर्क पनि भयो तर उनका पिताले रोग र उमेरको हवाला दिँदै छोराको कंकालको अन्तिम संस्कार गर्न अस्विकार गरे ।पुलिसले अन्तिम संस्कार गराउँछ भने आफूहरु उपस्थित हुने पिताले बताएपछि १७ वर्ष पुरानो निखिलको कंकालको अन्तिम संस्कार गरियो ।