जेठ १४,
काठमाडौ । सहरी क्षेत्रमा जीवनशैली व्यस्त छ । खराब खानपान छ । व्यायाम छैन । त्यसैले स्वास्थ्य समस्या आइरहेको छ । दम, मधुमेह, रक्तचाप, क्यान्सर र मानसिक समस्या बढेको छ । मुटु र मिर्गाैलाका रोगी थपिएका छन् ।
श्वासप्रश्वास र छालाको रोग
वातावरण प्रदूषणको मुख्य कारण धुलो, धुवाँ र फोहर हो । फोहोर व्यवस्थापन नहुँदा अधिकांश पानीका स्रोत दूषित छन् । उद्योगधन्दा र गाडीबाट निस्कने धुवाँधुलोको व्यवस्थापन छैन । सडक धुलाम्मे छन् । धुलो र धुवाँले फोक्सोमा असर गर्छ । श्वास–प्रश्वाससम्बन्धी विभिन्न रोग लाग्छ । धुलोले छालामा पनि समस्या हुन्छ ।
मुटुमा समस्या
काठमाडौंमा खाद्यान्न, फलफूल र तरकारी बाहिरबाट आउँछ । खाद्यान्नमा मिसावट हुन्छ । तरकारी, फलफूल र सागपात ताजा राख्न रसायन हालिएको हुन्छ । जसले मुटुमा समस्या ल्याउन सक्छ । खानपानको नमिल्दो शेैली पनि रोगको कारण हो । फास्टफुड वा स्ट्रिट फुड स्वस्थकर हुँदैन । नुन र चिनीको अत्यधिक सेवनले विभिन्न दीर्घरोग लाग्न सक्छ ।
मानसिक समस्या
सहरका मानिसको अधिकांश समय कार्यालयमा नै बित्छ । कामको चापले तनाव व्यवस्थापनको समय हुँदैन । तनावले शारीरिक तथा मानसिक स्वास्थ्य समस्या हुन्छ । काममा लगातार व्यस्त हुँदा घुमघाम र भेटघाट कम हुन्छ । मानसिक थकान मेटिँदैन । लामो समय एकै ठाउँमा बस्दा दिक्दारी पनि हुन्छ । जसको कारण झर्किने, रिसाउनेजस्ता समस्या हुन्छन् । अन्य जटिल मानसिक समस्या पनि हुन्छ ।
क्यान्सरको जोखिम
सहरमा धूम्रपान गर्नेको संख्या धेरै छ । मानिसको चाप धेरै हुनाले धूम्रपान गर्नेलाई भन्दा वरिपरिकालाई बढी असर गर्छ । धूम्रपान गर्नेलाई जत्ति नै नगर्नेलाई पनि असर गर्छ । धूम्रपानले दम हुन सक्छ । मुख, घाँटी र फोक्सोको क्यान्सर हुन सक्छ । रक्सी पिउनुलाई आधुनिक जीवनशैली मानिन्छ । यो चिन्ताको विषय हो । रक्सीका कारण शारीरिक र मानसिक दुवै समस्या हुन्छ ।
रोकथामका उपाय
-प्रदूषण भएको बहानामा धेरै मान्छे हिँड्दैनन् । खेल्दैनन् । व्यायाम पनि गर्दैनन् । दिनभरि निस्क्रिय भएर घरमै बस्ने छन् । जसले शरीरमा आलस्यता भई
मोटोपन बढ्छ । नियमित व्यायामले धेरै रोगबाट जोगाउँछ ।
-धूम्रपान गर्नुहुँदैन । धूम्रपान नगर्न घर, टोल, छिमेक, कार्यालय सबैतिर अभियान चलाउनुपर्छ । मध्यपानबाट पनि टाढा रहनुपर्छ ।
-अनिवार्य रूपमा नियमित स्वास्थ्य परीक्षण गराउनुपर्छ । कुनै समस्या देखिए चिकित्सकको सल्लाह लिनुपर्छ ।
-तनावको उचित व्यवस्थापन गर्नुपर्छ । व्यायाम र आफन्त तथा साथीभाइसँगको भेटघाटले तनाव व्यवस्थापन हुन्छ ।