ब्राजिलको कारागारमा झडप, १५ जनाको मृत्यु

96
सांकेतिक तस्विर

जेठ १३
साओ पाउलो। ब्राजिलको अमेजोनास राज्यको एक कारागारमा कैदीबन्दीबीच आइतबार भएको झडपमा १५ जना कैदीको मृत्यु भएको क्षेत्रीय कारागार कार्यालयले जनाएको छ । अमेजोनास राज्यको राजधानी मानसबाट करिब २८ किलोमिटर बाहिर रहेको उक्त कारागारमा स्थानीय समयानुसार बिहान ११ बजेट झडप शुरु भएको थियो ।
कारागारका सुरक्षा प्रमुख कर्णेल मार्कोस अल्मेडाले कैदीहरुले दाँत माझ्ने ब्रस लगायतका सामानको प्रयोग गरी एकअर्कामाथि आक्रमण गरेको र कतिपयलाई चक्कुको प्रयोग गरेको जानकारी दिनुभयो । उहाँले उक्त घटनाको अनुसन्धान शुरु भइसकको पनि बताउनुभयो । यही कारागारमा सन् २०१७ को जनवरीमा हिंसा भड्किँदा ५६ जनाको ज्यान गएको थियो । ब्राजिलमा विश्वमै सबैभन्दा बढी मानिस कैदीबन्दीका रुपमा रहेका छन् । सरकारी तथ्याँक अनुसार ब्राजिलमा सन् २०१६ को जुन महिनामा सात लाख २६ हजार ७१२ जना कैदीबन्दी छन् ।

तर ब्राजिलका कारागारको क्षमताभन्दा दोब्बर बढी मानिस थुनामा रहेका छन् । सन् २०१६ मा कारागारका क्षमता करिब तीन लाख ६८ हजार मात्र थियो ।
निकै भिडभाड देखिने ब्राजिलका कारागारमा ग्याङ ९समूह० भिडन्त हुने गरेको छ । यहाँ कारागारभित्र दङ्गा भड्किने र कारागार तोड्ने प्रयास पनि बेलाबखत भइरहन्छन् । अमेजोन जङ्गल नजिकको बेलेम कारागारमा गत अप्रिलमा भएको यस्तै भिडन्तमा २१ जना कैदीबन्दीको मृत्यु भएको थियो ।

रासस/एएफपी