एजेन्सी, जेठ १२,
लिमा । दक्षिण अमेरिकी मुलुक पेरूमा ८ म्याग्नेच्युडको भूकम्प आएको छ। स्थानीय समयअनुसार आइतबार बिहान २ बजेर ४० मिनेट जाँदा भूकम्प आएको हो। सान मार्टिन क्षेत्रको राजधानी मोयोबाम्बादेखि ११० किलोमिटर पूर्व केन्द्रबिन्दु बनाएर भूकम्पको धक्का छिमेकी कोलोम्बिया र ब्राजिलसम्म पनि महशुस गरिएको छ।
कतिपयले तीन मिनेटसम्म भूकम्पको धक्का महशुस भएको बताएका छन्। राजधानी लिमामा रहेका पत्रकार जरेड वादेले ट्वीटरमा लेखेका छन्- पेरूमा निकै ठूलो धक्का महशुस भयो। ओछ्यान हल्लिएपछि ब्युझें। भूकम्पले हल्लाएपछि लिमावासी मध्यरातमा सडकमा निस्किएका छन्। भूकम्पबाट भएको क्षतिको विस्तृत विवरण आउन बाँकी छ।